धोनीलाई पन्जा फेर्न आइसीसीको आदेश

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आइसीसी ) ले भारतीय टोलीका विकेटकिपर महेन्द्रसिंह धोनीलाई आफ्नो विकेटकिपिंग ग्लोभ्स परिवर्तन गर्न आदेश दिएको छ।

इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत धोनीले दक्षिण अफ्रिका बिरुद्धको पहिलो खेलमा प्रयोग गरेको पन्जामा भारतीय क्षेत्रिय आर्मीको पारासुट रेजिमेन्टको चिन्ह रहेको थियो। धोनी आफैं समेत पारासुट रेजिमेन्टका लेफ्टिनेंट कर्नल भएकाले समेत उनले सो चिन्ह भएको पन्जा प्रयोग गरेका थिए। भारतीय आर्मी प्रतिको सद्भाव स्वरूप धोनीले सो पन्जा प्रयोग गरेपछि पछिल्लो केहि दिनमा यस बिषयले चर्चा पाउँदै आएको छ।

यस बिषयले चर्चा पाएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ( बिसिसिआई ) ले आइसीसीलाई धोनीलाई सो पन्जा प्रयोग गर्न दिन अपिल गरेको थियो।

तर शुक्रवार आइसीसीले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ( बिसिसिआई ) मार्फत धोनीलाई आफ्नो पन्जा परिवर्तन गर्न आदेश दिएको छ। आइसीसीको नियम अनुरूप कुनैपनि खेलाडीले आफ्नो जर्सी, पन्जा वा अन्य कुनै किटमा समेत राजनीतिक संदेश दिने वा व्यक्तिगत संदेश दिने चिन्ह प्रयोग गर्न पाउदैनन्।

आइसीसीको आदेश पछि धोनीले आफ्नो विकेटकिपिंग पन्जामा रहेको आर्मीको चिन्ह टेप लगाएर छोप्ने भएका छन्।

यस्तो आदेशसंगै महेन्द्र सिंह धोनीले आइसिसिको दुई नियम तोडेको समेत आइसीसीले बिसिसिआईलाई बताएको छ। धोनीले ” जी १ ” कल्ज अन्तर्गत पहिरन र उपकरणको नियम र विकेटकिपिंग पन्जामा हुनुपर्ने लोगोको नियम समेत तोडेको भनिएको छ।

यसअघि समेत अष्ट्रेलिया बिरुद्ध भएको घरेलु एक दिवसीय शृंखलाका क्रममा सिंगो भारतीय टोलीले भारतीय सेनाको सम्मान स्वरूप सेनाको टोपी लगाएर एक खेल खेलेको थियो। सो समयमा समेत भारतले खेल भावना बिपरित कार्य गरेको र खेलमा राजनीति जोड्न खोजेको भन्दै पाकिस्तानले बिरोध समेत गरेको थियो। यद्यपी सो शृंखलाका क्रममा भने भारतले सेनाको टोपी प्रयोग गर्न आइसीसीबाट पूर्व-अनुमति लिएको थियो।

विश्वक्रिकेटमा यसअघि पनि मोइन अलि र इम्रान ताहिरमाथि आइसीसीले खेलमा व्यक्तिगत वा राजनितिक संदेश दिने कार्य गरेको आरोपमा कदम चालेको थियो। सन् २०१४ मा भारत बिरुद्धको टेस्ट क्रिकेटका क्रममा मोइन अलिले आफ्नो नाडीमा ” फ्री प्यालेस्टाइन ” लेखेको ब्याण्डको प्रयोग गरेका थिए।

विश्वकप क्रिकेट अन्तर्गत प्रतियोगितामा सुखद सुरुवात गर्ने क्रममा भारतले दक्षिण अफ्रीकालाई ६ विकेटले पराजित गरको थियो। जितमा युझ्भेन्द्र चाहलले ४ विकेट लिंदा ब्याटिंगमा रोहित शर्माले १२२* रन बनाएका थिए। भारत र अस्ट्रेलिया बीच जुन ९ तारिख आइतबार केंनिंगटन ओभल मैदानमा खेल हुँदैछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy