आईसीसी वरियतामा पारसलाई उछिन्दै कुशलको नयाँ कीर्तिमान, सन्दिपको पनि ठूलो फड्को

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले सार्वजनिक गरेको नयाँ टि-ट्वान्टी अन्तर्राष्ट्रिय वरियतामा दुई नेपाली खेलाडी कुशल भुर्तेल र सन्दिप लामिछानेले ऐतिहासिक उपलब्धि हाँसिल गरेका छन्।

नयाँ वरियता अनुसार कुशल भुर्तेल ब्याटिंगतर्फ ३९ औं स्थानमा छन्। यो वरियता नेपाली खेलाडीको टि-ट्वान्टी अन्तर्राष्ट्रिय इतिहासमै उच्च हो। भुर्तेलले टि-२० विश्वकप छनोटमा फिलिपिन्स बिरुद्ध करियरको पहिलो शतक बनाएका थिए जुन क्रममा अविजित १०४ रन बनाएका थिए। यस्तै उनले क्यानडा बिरुद्ध अविजित ३४ रन बनाएका थिए। नेपालको लागि मात्र १० वटा टि-२० अन्तर्राष्ट्रिय खेलेका कुशलले १ शतक र ४ अर्धशतक मद्दतले ४४३ रन बनाएका छन्।

यस अघि नेपाली खेलाडीको उच्च वरियता क्रमको रेकर्ड पूर्व कप्तान पारस खड्काको नाममा थियो। पारसले सन् २०१९ मा सिंगापुर बिरुद्ध टि-२० अन्तर्राष्ट्रिय शतक बनाउदा उनि ब्याटिंग वरियताको ४२ औं स्थानमा पुगेका थिए। वरियतामा दिपेन्द्र सिंह ऐरी ५० औं स्थानमा पुगेका छन्।

यस्तै नेपाली टिमका कप्तान सन्दिप लामिछानेले पनि वरियतामा अहिलेसम्मकै उच्च स्थान हाँसिल गरेका छन्। उनि १६ स्थान फड्को मार्दै ४३ औं स्थानमा पुगेका छन्। यस अघि सन्दिपको उच्च वरियता ५६ थियो। टि-२० अन्तर्राष्ट्रियमा नेपालको सर्वाधिक विकेटकर्ता उनले ३३ खेलमा ५९ विकेट लिईसकेका छन्।

सन्दिपले टि-२० विश्वकप छनोट प्रतियोगितामा खेलेको ४ खेलमा ९ विकेट लिएका छन् यस क्रममा उनले ओमान बिरुद्ध २ विकेट, फिलिपिन्स र क्यानडाकी बिरुद्ध ३/३ विकेट तथा युएई बिरुद्ध १ विकेट लिएका थिए।

यस्तै बलिंग वरियतामा फास्ट बलर अविनाश बोहराले पनि १२ स्थानको फड्को मार्दै ८६ औं स्थानमा पुगेका छन्। यो उनको करियरकै उच्च वरियता हो। बोहराले टि-२० विश्वकप छनोटमा खेलेको ४ खेलमा ७ विकेट लिएका छन्। यस क्रममा उनले युएई बिरुद्ध ३ विकेट, क्यानडा बिरुद्ध २ विकेट तथा फिलिपिन्स र ओमान बिरुद्ध १/१ विकेट लिएका थिए।

ब्याटिंग वरियतातर्फ शिर्ष सय भित्र कुशल भुर्तेल र दिपेन्द्र सिंह ऐरी मात्र छन् भने बलिंगतर्फ पनि शिर्ष सय भित्र अविनाश बोहरा मात्र छन्।

आईसीसीको वरियतामा नेपाली टिम भने १५ औं स्थानमा पुगेको छ। टि-२० विश्वकप छनोटको समुह चरणमा तिन वटा जित पछि नेपाल १३ औं स्थानमा थियो तर सेमीफाइनलमा हार पछि नेपाल २ स्थान झरेको छ। वरियतामा युएई १२ औं तथा युएई १४ औं स्थानमा पुगेका छन्। ओमान १८ औं स्थानमा छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy