भारतमा आज सुरु भएको १३ औं आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उद्घाटन खेलमा न्युजिल्यान्डले डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डलाई ९ विकेटले पराजित गरेको छ।
अहमदावादको नरेन्द्र मोदी स्टेडियममा इंग्ल्यान्डले दिएको २८३ रनको लक्ष्य न्युजिल्यान्डले मात्र १ विकेट गुमाएर ३६.२ ओभरमै पुरा गर्यो।
न्युजिल्यान्डका दुई ब्याटरले शतक बनाए। ओपनर डेभोन कनवेले अविजित १५२ रन तथा तेश्रो नम्बरका रचीन रभिन्द्रले अविजित १२३ रन बनाए। कनवेले १२१ बलमा १९ चौका र ३ छक्का तथा रभिन्द्रले ९६ बलमा ११ चौका र ५ छक्का प्रहार गरे। दोश्रो विकेटको लागि दुवैले २७३ रनको साझेदारी गरे।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८२ रन बनाएको थियो।
इंग्ल्यान्डका लागि जो रुटले सर्वाधिक ७७ रन बनाउँदा जोस बटलरले ४३ रनको इनिङ खेले। त्यस्तै, जोनी बेयरिस्टोले ३३ रन बनाउँदा ह्यारी ब्रुक्सले २५ रन बनाए। उसका लागि डेभिड मलानले १४ रन बनाउँदा मोइन अलीले ११ रन बनाएका थिए।
थप दोहोरो रनको स्कोरका रुपमा लियम लिभिङस्टोनले २० रन, साम करनले १४ तथा क्रिस वोक्सले ११ रन बनाएका थिए। मार्क उड १३ र अदिल रसिद १५ रनमा अविजित रहे।
न्युजिल्यान्डका लागि म्याट हेनरीले ३ विकेट लिँदा ग्लेन फिलिप्स र मिचेल स्यान्टनरले समान २-२ विकेट लिए।
विश्वकप अन्तर्गत भोलि हुने दोश्रो खेलमा पाकिस्तान र नेदरल्याण्ड बीच प्रतिस्पर्धा हुनेछ। हैदरावादको राजिभ गान्धी स्टेडियममा हुने खेल २:१५ बजे दिउँसो सुरु हुनेछ।
https://www.youtube.com/watch?v=dhn6MnLo6NY
https://youtu.be/eD3YpZKQjzQ?si=8xhUmbugMNJBHM_W
