ICC WCL 2 : स्कटल्याण्डले अमेरिकालाई उछिन्यो, पीएनजीको एघारौं हार

२०७८ आश्विन १४, बिहीबार ०७:०५

पपुवा न्यु गिनी ( पीएनजी ) लाई ४ विकेटले पराजित गर्दै स्कटल्याण्डले आईसीसी विश्वकप लिग-२ अन्तर्गतको ओमानमा जारि त्रिकोणात्मक सिरिजमा लगातार तेश्रो जित दर्ता गरेको छ।

अल अमिरात क्रिकेट मैदानमा सम्पन्न खेलमा पपुवा न्यु गिनीले दिएको २२७ रनको लक्ष्य स्कटल्याण्डले ७ बल बाँकी रहंदा ६ विकेट क्षेतीमा पुरा गर्यो। लक्ष्य पछ्याउने क्रममा १६७ रनमा ६ विकेट गुमाएको स्कटल्याण्डको लागि सातौँ विकेटको रुपमा मिचेल लिस्क र मार्क वाटले अविजित ६१ रनको साझेदारी गर्दै पपुवा न्यु गिनीको जित्ने आशा समाप्त गरे।

स्कटल्याण्डको लागि कप्तान कायल कोट्जरले सर्वाधिक ८१ रन, मिचेल लिस्कले अविजित ५१ रन, कलम म्याकलोएडले २८ रन बनाए भने डाईलन बजले १९, जर्ज मुनसेले १४ तथा मार्क वाटले अविजित १३ रन बनाए। पीएनजी बलर कबुवा मोरिया ( १०-०-४०-२ ) र चाड सोपर ( ८-०-४८-२ ) ले समान २ विकेट तथा असद भालाले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग रोजेको पपुवा न्यु गिनीले ५० ओभरमा ८ विकेट क्षेतीमा २२६ रन बनाएको थियो। उसको लागि नोर्मन भानुआले सर्वाधिक ५७ रन, चाड सोपरले अविजित ३९ रन, असद भालाले ३० रन, जेसन किलाले २४ रन तथा गौडी टोकाले २० रन बनाए। ९७ रनमा ६ विकेट गुमेको अवस्थामा आठौँ नम्बरमा ब्याटिंग गरेका भानुवाले एक किनार सम्हाल्दै टिमलाई प्रतिस्पर्धात्मक योगफलतर्फ डोर्याएका थिए।

स्कटल्याण्डको बलिंगमा एलेस्डर इभान्स ( १०-०-४२-३ ) र मिचेल लिस्क ( १०-२-१९-३ ) ले समान ३ विकेट तथा गेभिन मेनले १ विकेट लिए।

सिरिजको पहिलो खेलमा पनि स्कटल्याण्डले पपुवा न्यु गिनीलाई ११० रनले तथा ओमानलाई १८ रनले पराजित गरेको थियो।

अंकतालिकाको अवस्था : जित पछि स्कटल्याण्ड आईसीसी विश्वकप लिग-२ अंकतालिकामा अमेरिकालाई पछि पार्दै दोश्रो स्थानमा उक्लेको छ। ११ खेल खेलेको स्कटल्याण्डको ७ जित र ३ हार पछि १५ अंक छ। तेश्रो स्थानमा पुगेको अमेरिकाको १६ खेलमा ७ जित आर ९ हार बेहोर्दै १४ अंक छ। चौथों स्थानमा रहेको नेपालको ८ खेलमा ४ जित र ४ हार पछि ८ अंक छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy