आईसीसी विश्वकप लिग–२ : नेपाल आज ओमानसंग खेल्दै

आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका भ्रमणमा रहेको नेपालले त्रिदेशीय सिरिजको पहिलो खेलमा आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । अमेरिकाको ह्युस्टस्थित मुसा क्रिकेट स्टेडियममा बेलुका ९ः१५ बजे सुरु हुने खेलमा नेपाल ओमानविरुद्ध सुखद नजिता निकाल्ने अभियानमा छ ।

यता ओमान पनि नेपाललाई हराउने लक्ष्यमा छ । पहिलो खेलमा अमेरिकासँग एक सय १४ रनले पराजित भएको ओमान शीर्षस्थानमा बलियो बन्न पनि नेपाललाई हराउने योजनामा छ । नेपाललाई भने लिगको शीर्ष तीन स्थानमा रहँदै आगामी वर्ष हुने एकदिवसिय विश्वकप छनोट खेल्न ओमानलाई हराउनुपर्ने दबाब छ ।

चोटका कारण नेपाली टोलीका ओपनर आसिफ शेख र कुशल भुर्तेलको अभाव नेपाली टोलीलाई पर्ने देखिएको छ । आसिफ र कुशलको स्थानमा सुनिल धमला र सुवास खकुरेललाई मौका दिइएको छ । सिरिज अघि अमेरिकामा नेपालले दुई वटा अभ्यास खेल खेलेको थियो ।

नेपालले पूर्व खेलाडीहरुको क्लब नेपाली अल स्टार्स र ह्युस्टन हरिकेन्ससँग दुई वटा एकदिवसीय अभ्यास खेल खेलेको हो । सिरिजमा नेपालले दोस्रो खेल जेठ २८ गते अमेरिकाविरुद्ध, तेस्रो खेल जेठ ३१ गते ओमानविरुद्ध र अन्तिम खेल असार १ गते अमेरिकाविरुद्ध खेल्नेछ ।

लिग–२ अन्तर्गत सिरिजमा यसअघि १२ खेल खेलेको नेपाल अहिले तालिकाको छैटौं स्थानमा छ । ओमान, यूएई, स्कटल्याण्ड, नामिबिया, अमेरिका र पीएनजी गरी सात टोली सहभागी आईसीसी विश्वकप लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।

नेपाली टोली

सन्दीप लामिछाने (कप्तान), विनोद भण्डारी (विकेटकिपर),आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, सुनिल धमला, सुवास खकुरेल, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो र सागर ढकाल ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy