T20WC : पाकिस्तानको लगातार दोश्रो जित

२०७८ कार्तिक ९, मंगलवार २३:१४

न्युजिल्यान्डलाई  ५ विकेटले पराजित गर्दै पाकिस्तानले टि-ट्वान्टी विश्वकपमा लगातार दोश्रो जित दर्ता गरेको छ। पहिलो खेलमा उसले भारतलाई १० विकेटले पराजित गरेको थियो।

युएईको शारजाह स्टेडियममा सम्पन्न सुपर-१२ चरणको समुह ‘२’ अन्तर्गत खेलमा न्युजिल्यान्डले दिएको १३५ रनको लक्ष्य पाकिस्तानले ८ बल बाँकी छँदै ५ विकेट गुमाएर भेटायो। पाकिस्तानको ब्याटिंगमा मोहम्मद रिजवानले ३३, आसिफ अलिले अविजित २७, शोयब मलिकले अविजित २६, फखर जमान, मोहम्मद हफिज र इमाद वासिमले समान ११ रन बनाए।

लक्ष्य पछ्याउने क्रममा पाकिस्तान ओपनर मोहम्मद रिजवान र बाबर आजमले २८ रन जोडे। छैठौं ओभरमा आजमलाई इश सोढीले बोल्ड गरे। त्यसपछि रिजवानले एक किनार सम्हालेता पनि अर्को किनारमा विकेट थामिएन। फखर जमानलाई सोढीले एलबिडब्लु पारे भने मिचेल स्यान्टनरले मोहम्मद हफिजलाई क्याच आउट गरे। रिजवानलाई बाह्रौं ओभरमा सोढीले एलबिडब्लु पारे। पन्ध्रौँ ओभरमा इमाद वासिमलाई ट्रेन्ट बोल्टले एलबिडब्लु पारे। पाकिस्तान ८७/५ को अवस्थामा पुग्यो। दबाबमा शोयब मलिक र आसिफ अलिले ४८ रनको साझेदारी गर्दै जित दिलाए।

न्युजिल्यान्डको बलिंगमा इश सोढीले २ विकेट ( ४-०-२८-२ ) तथा ट्रेन्ट बोल्ट ( ३.४-०-२९-१ ), मिचेल स्यान्टनर ( ४-०-३३-१ ) , टिम साउदी ( ४-०-२५-१ ) ले समान एक विकेट लिए।

टस हारेर ब्याटिंग गरेको न्युजिल्यान्डले २० ओभरमा ८ विकेट क्षेतीमा १३४ रन बनाएको थियो। न्युजिल्यान्डको ब्याटिंगमा डेरेल मिचेल र डेभोन कनवेले सर्वाधिक २७ रन, कप्तान केन विलियमसनले २५ रन, मार्टिन गप्टिलले १७ रन, ग्लेन फिलिप्सले १३ रन बनाए।

गप्टिल र मिचेलले ३६ रनको ओपनिंग साझेदारी गरेका थिए। छैठौं ओभरमा गप्टिल आउट भएपछि विलियमसनले मिचेलसंग १८ रनको तथा चौंथो विकेटको लागि कनवेसंग ४४ रनको साझेदारी गरे। चौधौं ओभरमा विलियमसन हसन अलिबाट रन आउट भए। कनवेले फिलिप्ससंग २६ रनको साझेदारी गरे। अठारौं ओभरमा कनवे र फिलिप्स दुवैलाई हरिस रौफले क्याच आउट गरे। इनिंग्सको अन्तिम ५ ओभरमा न्युजिल्यान्डले ४ विकेट क्षेतीमा ३४ रन मात्र बनाउन सक्यो।

पाकिस्तानको बलिंगमा हरिस रौफले करियरकै उत्कृस्ट स्पेल दर्ता गर्ने क्रममा ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए। यस्तै शाहिन अफ्रिदी ( ४-१-२१-१ ) , इमाद वासिम ( ४-०-२४-१ ) र मोहम्मद हफिजले ( २-०-१६-१ ) ले समान एक विकेट लिए।

प्रतियोगिता अन्तर्गत पाकिस्तानले आगामी खेल अफगानिस्तान बिरुद्ध अक्टोबर २९ तारिखमा खेल्नेछ। न्युजिल्यान्डले आगामी खेल भारतसंग अक्टोबर ३१ तारिखमा खेल्नेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy