टि-ट्वान्टी विश्वकप २०२२ को फाइनल पुग्न भारतले इंग्ल्यान्ड समक्ष १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ।
अस्ट्रेलियाको एडिलेड मैदानमा टस हारेर ब्याटिंग गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट क्षेतीमा १६८ रन बनायो।
५ रन बनाएका ओपनर केएल राहुल दोश्रो बोहरमा क्रिस वोक्सबाट विकेट पछाडी समातिन पुगे। दोश्रो विकेटको लागि कप्तान रोहित शर्मा र बिराट कोहलीले ४७ रनको साझेदारी गरे। नवौं ओभरमा रोहितलाई क्रिस जोर्डनले क्याच आउट पारे। रोहितले २८ बलमा २७ रन बनाए। बाह्रौं ओभरमा सुर्यकुमार यादव १४ रन बनाएर आदील राशिदबाट क्याच आउट भए।
चौंथो विकेटको लागि कोहली र हार्दिक पान्ड्याले अर्धशतकीय साझेदारी गरे। ६१ रनको साझेदारी गरेपछि कोहली अठारौं ओभरको अन्तिम बलमा क्रिस जोर्डनबाट क्याच आउट भए। त्यस अघि कोहलीले ४० बलमा ४ चौका र १ छक्का मद्दतले ५० रन बनाए।
उन्नाईसौं ओभरमा स्याम करनको ओभरमा भारतले २० रन बनायो। पान्ड्याले ३ चौका र १ छक्का प्रहार गर्दै २९ बलमा अर्धशतक पनि पुरा गरे।
क्रिस जोर्डनले गरेको अन्तिम ओभरको पहिलो ३ बलमा भारतले रिशभ पन्तको विकेट गुमाउदा मात्र २ रन बनायो। त्यसपछि हार्दिक पान्ड्याले छक्का र चौका प्रहार गरे। अन्तिम बलमा पान्ड्या हिट विकेट भए। पान्ड्याले ३३ बलमा ६३ रन बनाए जुन क्रममा ४ चौका र ५ छक्का प्रहार गरे।
अन्तिम ५ ओभरमा भारतले ३ विकेट गुमाएर ६८ रन बनायो।
इंग्ल्यान्ड बलर क्रिस जोर्डनले ३ विकेट ( ४-०-४३-३ ) लिए भने क्रिस वोक्स र अदिल राशिदले १/१ विकेट लिए। राशिदले ४ ओभरमा मात्र २० रन खर्चिए।