द हन्ड्रेड : ह्याट्रिक र पाँच विकेट लिंदै इमरान ताहिरले रचे इतिहास

दक्षिण अफ्रिकी स्पिनर इमरान ताहिरले इंग्ल्यान्डमा जारि ‘द हन्ड्रेड’ लिगमा इतिहास रचेका छन्।

लेग स्पिनर ताहिर प्रतियोगितामा ह्याट्रिकको साथै एकै पारिमा ५ विकेट लिने पहिलो बलर बनेका छन्। सोमबार राति सम्पन्न खेलमा ताहिरले वेल्श फायर बिरुद्ध बर्मिङगम फोनिक्सलाई विशाल जित दिलाउने क्रममा चकित पार्ने प्रदर्शन गरेका हुन्।

४२ वर्षीय लेग स्पिनर ताहिरले खेलमा १९ बल गर्ने क्रममा २५ रन दिएर ५ विकेट लिए जुन क्रममा १० वटा डट बल फाले। ताहिरले इनिंग्सको ७२ औं , ७३ औं र ७४ औं बलमा क्रमशः कैस एहमद, म्याट मिल्ने र डेभिड पेनलाई पेभेलिन फर्काए। एहमदलाई क्याच आउट गराएका उनले मिल्नेलाई एलबिडब्लु पारे भने पेनलाई बोल्ड गर्दै ह्याट्रिक पुरा गरे।

ताहिरको शानदार बलिंग मद्दतले खेलमा फोनिक्स ९३ रनको विशाल अन्तरले विजयी भयो। १८५ रनको लक्ष्य पछ्याउने क्रममा वेल्स फायरले ७४ बलमा सबै विकेट गुमाएर ९१ रन मात्र बनाउन सक्यो। पहिले ब्याटिंग गरेको फोनिक्सले विल समिदको ३८ बलमा ६५ तथा कप्तान मोईन अलिको २८ बलमा ५९ रन मद्दतले १०० बलमा ५ विकेट क्षेतीमा १८४ रन बनाएको थियो।

जितपछि बर्मिङगम फोनिक्स द हन्ड्रेड अंकतालिकाको पहिलो स्थानमा उक्लेको छ जसले ६ खेलमा ४ जित र २ हार पछि ८ अंक बटुलेको छ। समान अंक रहेको ट्रेन्ट रकेट्स नेट रन रेटमा पछि रहँदै दोश्रो स्थानमा छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy