रोहित र जेडेजाको प्रदर्शनमा भारतको सहज जित : एसिया कप

२०७५ आश्विन ६, शनिबार ००:०७

  • विकेटनेपाल, असोज-५ 

युनाइटेड अरब इमिरेट्समा जारि १४ औं एसिया कप क्रिकेट अन्तर्गत भारतले सुपर-४ चरणको सुरुवात जितको साथ गरेको छ।

प्रतियोगितामा अपराजित यात्रा कायम गर्ने क्रममा रोहित शर्मा कप्तानीको टिमले बंगलादेशलाई ७ विकेटले पराजित गरेको हो। सुपर-४ अन्तर्गत भारतले आगामी खेलमा आइतबार पाकिस्तानसंग खेल्ने तालिका रहेको छ भने बंगलादेशले सोहि दिन अफगानिस्थानसंग खेल्नेछ।

यस अघि समुह चरणमा भारतले हंगकंगलाई २६रनले तथा पाकिस्तानलाई ८ विकेटले पराजित गर्दै सुपर-४ चरण प्रवेश गरेको थियो। यस्तै बंगलादेशले श्रीलंकालाई १३७ रनले पराजित गर्दा अफगानिस्तानसंग १३६ रनको पराजय बेहोरेको थियो।

खेलमा टस हारेर ब्याटिंग गरेको बंगलादेशले दिएको १७४ रनको लक्ष्य भारतले ३६.२ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो। जितमा कप्तान रोहित शर्माले अविजित ८३ रन बनाए जुन क्रममा १०४ बलमा ३ छक्का र ५ चौका प्रहार गरे।

रोहितले पहिलो विकेटको लागि रोहितले शिखर धवनसंग ६१ रनको तथा दोश्रो विकेटको लागि अम्बाती रायडूसंग ४५ रनको साझेदारी गरेका थिए। धवनले ४० तथा रायडूले १३ रन बनाए। दोश्रो विकेट गुमेपछि चौथो नम्बरमा ब्याटिंग गर्न आएका धोनीसंग रोहितले ६४ रनको साझेदारी गरे। धोनी जितबाट ३ रन टाढा हुँदा व्यक्तिगत ३३ रन बनाएर आउट भए।

बंगलादेशका बलर मश्रफे मुर्तजा, शाकिब अल हसन र रुबेल हुसेनले समान १/१ विकेट लिए पनि भारतलाई सहज जित हात पार्न रोक्न सकेनन्।

कम्ब्याक खेलमा जडेजाको ४ विकेट 

यस अघि बंगलादेशले ४९.१ ओभरमा सबै विकेट गुमाएर १७३ रन जोडेको थियो। उसको इनिंगमा मेहेदी हसनले सर्वाधिक ४२ रन जोडे।

लामो समय पछि एकदिवसीय टिममा कम्ब्याक गरेका भारतीय स्पिनर रबिन्द्र जडेजाको धारिलो बलिंगको अगाडी लगातार विकेट गुमाएको बंगलादेशले १०१ रन जोड्दा ७ ब्याट्सम्यान गुमाइसकेको थियो। सम्मानजनक स्कोरसम्म समेत नपुग्ने अवस्थामा रहेको बंगलादेशको ब्याटिंगलाई उकास्न मेहेदी हसनले कप्तान मश्रफे मोर्तजासंग आठौँ विकेटका लागि ६६ रनको साझेदारी गरे। मोर्तजा व्यक्तिगत २६ रन जोड्दै आउट भए।

नवौं विकेटका रुपमा आउट भएका मेहेदी हसनले भने व्यक्तिगत ४२ रनको उत्कृस्ट इनिंग खेले। ५० बलको सामाना गरेका उनले २ चौका र २ छक्का प्रहार गरेका थिए।

टस हारेर ब्याटिंगको निम्तो पाएको बंगलादेशको सुरुवात भने राम्रो हुन सकेको थिएन। ओपनरद्वय लिट्टन दास र नज्मुल हुसेनलाई समान ७-७ रनको व्यक्तिगत स्कोरमा गुमाएको इनिंगमा मुश्फिकुर रहिम (२१) र शाकिब अल हसन (१७) समेत चलन सकेनन्।

बंगलादेशको मध्यक्रमको ब्याटिंगलाई ध्वस्त पार्ने क्रममा रबिन्द्र जडेजाले सर्वाधिक ४ विकेट हात पारे। आफ्नो १० ओभरको स्पेलमा जडेजाले २९ रन खर्चिएर ४ विकेट लिन सफल भए। जडेजाले पछिल्लो पटक सन् २०१७, जुलाई मा वेस्ट इन्डिज बिरुद्ध एक दिवसीय खेल खेलेका थिए। यस्तै भुवनेश्वर कुमार र जस्प्रित बुम्राहको नाममा समान ३-३ विकेट रह्यो।

खेलको फोटोहरु ( श्रोत – आईसीसी )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy