U19 Asia Cup : भारतको उपाधि ह्याट्रिक

२०७८ पुष १६, शुक्रबार २१:१३

श्रीलंकालाई ९ विकेटले ( डी/एल मेथड ) मा पराजित गर्दै भारतले अन्डर-१९ एसिया कपको ह्याट्रिक उपाधि जितेको छ। भारतले यु-१९ एसिया कपको उपाधि जितेको यो समग्रमा आठौँ पटक हो।

युएईको दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर श्रीलंकाले पहिले ब्याटिंग गर्दै निर्धारित ३८ ओभरमा ९ विकेट क्षेतीमा १०६ रन बनाएको थियो। वर्षाका कारण खेल ढिला सुरु भएपछि ओभर घटाइएको थियो।

श्रीलंकाको लागि यासिरु रोडरिगोले सर्वाधिक १९, रभीन डी सिल्भाले १५, मथिसहा पाथीराना र सदिशा राजपक्षले समान १४ रन योगदान दिए। ५७ रनमा ७ विकेट गुमाए पछि श्रीलंकाले थप २ विकेट मात्र गुमाएर ४९ रन जोड्यो। भारतको बलिंगमा विकि ओस्टवालले ३ तथा कौशल ताम्बेले २ विकेट लिए।

दोश्रो इनिंग्सको खेल वर्षाले प्रभावित हुँदा भारतले ३२ ओभरमा १०२ रनको लक्ष्य पाएको थियो। उक्त लक्ष्य भारतले २१.३ ओभरमा मात्र १ विकेट क्षेतीमा भेटायो। भारतीय ओपनर अंगकृष रघुबंशीले अविजित ५६ तथा शैक रशिदले अविजित ३१ रन बनाए। रघुबंशी र रशिदले दोश्रो विकेटको लागि ९६ रनको साझेदारी गरे।

सेमीफाइनलमा भारतले बंगलादेशलाई तथा श्रीलंकाले पाकिस्तानलाई पराजित गरेको थियो।

प्रतियोगितामा नेपाल समूह चरणमा सबै खेलमा पराजित हुँदै पहिलो चरणबाट घर फर्केको थियो। नेपाल कुवेत, श्रीलंका र बंगलादेशसंग पराजित भएको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy