तेवतिया, किशन र यादव पहिलो पटक भारतीय टिममा, भुवनेश्वरको पुनरागमन

२०७७ फाल्गुन ९, आईतवार १०:२८

इंग्ल्यान्डको भारत भ्रमण अन्तर्गत मार्च १२ देखि सुरु हुने ५ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिजको लागि भारतले १९ सदस्यीय टिमको घोषणा गरेको छ। ४ टेस्टको सिरिज पछि टि२० सिरिज सुरु हुने तालिका रहेको छ।

घोषित टिममा विकेटकिपर ब्याट्सम्यान इशान किशन, सूर्यकुमार यादव, राहुल तेवतियाले पहिलो पटक स्थान बनाएका हुन्।

आईपीएलमा मुम्बई इन्डीएन्स तथा घरेलु क्रिकेटमा मुम्बईको लागि निरन्तर राम्रो प्रदर्शन गर्दै आएका यादवले अन्ततः राष्ट्रिय टिममा मौका पाएका छन्। यादवले १३ औं आईपीएलमा ४ अर्धशतक प्रहार गर्दै ४८० रन बनाएका थिए।

यस्तै आईपीएल टिम मुम्बईकै अर्का ब्याट्सम्यान किशनले पनि मौका पाएका हुन् जसले भर्खरै विजय हजारे ट्रफीमा झारखण्डको लागि खेल्दै ९४ बलमा १७३ रन बनाउदै चर्चा कमाएका थिए। किशनले गत आईपीएलमा ५१६ रन बनाएका थिए जो विकेटकिपरको रुपमा टिममा छन्।

आईपीएल १३ मा राजस्थानलाई अपत्यारिलो जितहरु दिलाएका हरियाणाका राहुल तेवतियाले पनि टिममा पहिलो पटक प्रवेश गरेका छन्। उनले आईपीएल २०२० मा १४ खेलमा ४२.५ को औशतले २५५ रन बनाएका थिए भने ७ रन प्रति ओभर खर्चेर १० विकेट पनि लिएका थिए। पन्जाब बिरुद्ध अपत्यारिलो जित दिलाएका थिए जुन क्रममा शेल्डन कटरेललाई एकै ओभरमा ५ छक्का हिर्काएका थिए।

टिममा घाइते मनिष पाण्डे सहित संजु स्यामसन र मायाँक अग्रवालले भए स्थान पाएनन् जसले गत वर्ष अन्तिममा अस्ट्रेलिया भ्रमण गरेका थिए। फास्ट बलर जस्प्रित बुम्राहलाई भने आराम दिईएको छ। रभीन्द्र जडेजालाई पनि मौका दिईएको छैन।

अन्तिम पटक २०१८ फेब्रुअरीमा भारतको लागि सेतो बल क्रिकेट खेलेका देब्रे हाते स्पिनर अक्षर पटेललाई पनि टिममा राखिएको छ जसले टेस्टमा भर्खरै अस्ट्रेलिया बिरुद्ध डेब्यु गर्दै ५ विकेट लिएका थिए।

टिममा दायाँ हाते पेसर भुवनेश्वर कुमारले पुनरागमन गरेका छन् जो आईपीएल २०२० को दौरान घाइते भएका थिए।

अस्ट्रेलियामा राम्रो प्रदर्शन गरेका पेसर टि नटराजनले निरन्तरता पाएका छन्। यस्तै आईपीएलमा राम्रो प्रदर्शन पछि अस्ट्रेलिया भ्रमणमा मौका पाए पनि घाइते हुँदा खेल्न नपाएका वरुण चक्रवर्तीलाई पुनः मौका दिईएको छ।

फिटनेसको कारण अस्ट्रेलिया टुरमा सिमित ओभर टिममा स्थान बनाउन नसकेका रोहित शर्माले पनि टिममा पुनरागमन गरेका छन्।

घोषित टिम : बिराट कोहली ( कप्तान ), रोहित शर्मा ( उपकप्तान ), केएल राहुल, शिखर धवन, श्रेयस अय्यर, सूर्यकुमार यादव, हार्दिक पांड्या, रिशभ पंत ( विकेटकिपर), ईशान किशन ( विकेटकिपर), युजवेंद्र चहल, वरुण चक्रवर्ती, अक्षर पटेल, वाशिंगटन सुन्दर , राहुल तेवतिया, टी नटराजन, भुवनेश्वर कुमार, दीपक चहर, नवदीप सैनी, शार्दुल ठाकुर

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy