श्रीलंकाद्वारा भारत ३ विकेटले पराजित

२०७८ श्रावण ८, शुक्रबार २३:४९

तेश्रो खेलमा भ्रमण टोलि भारतलाई ३ विकेटले पराजित गर्दै श्रीलंकाले सिरिजको सुखद अन्त्य गरेको छ। यस अघिनै भारतले अघिल्लो दुई खेल जित्दै सिरिज पक्षमा पारिसकेको थियो।

आर. प्रेमदाशा स्टेडियममा सम्पन्न खेलमा भारतले दिएको २२७ रनको लक्ष्य श्रीलंकाले ३९ ओभरमै भेटायो।

श्रीलंकाको ब्याटिंगमा अभिसका फर्नान्डोले सर्वाधिक ७६ रन बनाए जुन क्रममा उनले ९८ बलमा ४ चौका र १ छक्का प्रहार गरे। यस्तै भानुका राजापक्षले ५६ बलमा १२ चौका मद्दतले ६५ रन बनए। चरिथ असलंकाले २४ रन तथा रमेश मेन्डिसले अविजित १५ रन बनाए।

फर्नान्डोले मिनोद भानुकासंग ३५ रनको ओपनिंग साझेदारी गरे। छैठौं ओभरमा भानुकालाई क्रिश्नप्पा गोथमले क्याच आउट गराए। दोश्रो विकेटको लागि फर्नान्डोले भानुका राजापाक्षसंग १०९ रनको साझेदारी गरे। चेतन सकरियाले २३ औं ओभरमा राजापाक्ष र २५ औं ओभरमा धनन्जय डी सिल्भालाई पेभेलियन फर्काउदै भारतलाई खेलमा फर्काए। त्यसपछि फर्नान्डोले चरिथ असलंकासंग ४३ रनको साझेदारी गर्दै जितको दिशा दिए। असलंकालाई ३२ औं ओभरमा हार्दिक पान्ड्याले एलबिडब्लु गरे भने लगत्तै ओभरमा खाता नखोल्दै  कप्तान दासुन शनकालाई राहुल चाहरले क्याच आउट गराए।

जितको लागि मात्र १४ रन आवस्यक हुँदा छैठौं विकेटको रुपमा फर्नान्डोलाई राहुल चाहरले क्याच आउट गराए। त्यसपछि रमेश मेन्डिस र अकिला धनन्जयले टिमलाई जितसम्म पुर्याए।

भारतको बलिंगमा राहुल चाहरले सर्वाधिक ३ विकेट ( १०-०-५४-३ ) तथा चेतन सकरियाले २ ( ८-०-३४-२ ) विकेट लिए। क्रिश्नप्पा गोथम र हार्दिक पान्ड्याले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको भारतले ४३.१ ओभरमा २२५ रन बनाएको थियो। इनिंग्सको बीचमा खेल वर्षाले प्रभावित हुँदा ४७ ओभरमा इनिंग्स झारिएको हुँदा श्रीलंकाले ४७ ओभरमा २२७ रनको नयाँ लक्ष्य पाएको थियो।

भारतको लागि पृथ्वी शले सर्वाधिक ४९ रन, संजु स्यामसनले ४६ रन तथा सुर्यकुमार यादवले ४० रन बनाए। हार्दिक पान्ड्याले १९, नभदिप सैनीले १५ रन तथा कप्तान शिखर धवन र राहुल चाहरले समान १३ रन बनाए।

तेश्रो ओभरमा धवन आउट भएपछि पृथ्वी श र संजु स्यामसन बीच दोश्रो विकेटको लागि ७४ रनको साझेदारी भयो। १६ औं ओभरमा पृथ्वीलाई दासुन शनाकाले एलबिडब्लु गरे भने १९ औं ओभरमा स्यामसनलाई प्रभिन जयविक्रमाले क्याच आउट गराए। सुर्यकुमार यादवले त्यसपछि मनिष पाण्डेसंग ३९ रनको साझेदारी गरे। २५ औं ओभरमा पाण्डेलाई जयविक्रमाले क्याच आउट गराए। हार्दिकलाई जयविक्रमलेनै २९ औं ओभरमा एलबिडब्लु गरे। सुर्यकुमार यादव पनि ३१ औं ओभरमा धनन्जय डी सिल्भाबाट एलबिडब्लु भए। ३३ औं ओभरमा नितिश राना र क्रिश्नप्पा गोथमलाई धनन्जय डी सिल्भाले पेभेलियन फर्काए।

नवौं विकेटको लागि राहुल चाहर र नभदिप सैनी बीच २९ रनको साझेदारी भयो। ४३ औं ओभरमा चाहरलाई चमिका करुनारत्नेले कट एण्ड बोल्ड गर्दै साझेदारी तोडे भने सैनीलाई लगत्तै ओभरमा दुश्मन्था चमिराले क्याच आउट गराए।

श्रीलंकाको बलिंगमा अकिला धनन्जय ( १०-०-४४-३ ) र प्रभिन जयविक्रमा ( १०-०-५९-३ ) ले समान ३ विकेट लिए। दुश्मन्था चमिराले २ ( ८.१-०-५५-२ ) तथा चमिका करुनारत्ने र दासुन शनाकाले समान १ विकेट लिए।

खेलमा भारतको लागि ५ जना खेलाडीहरु चेतन सकरिया, क्रिश्नप्पा गोथम, नितिश राना, राहुल चाहर र संजु स्यामसनले एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए।

दुई देश बीच जुलाई २५ तारिख देखि तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिज सुरु हुनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy