लगातार ठूलो विकेटले भारत दबाबमा

२०७८ श्रावण २१, बिहीबार २३:००

भारत र इंग्ल्यान्ड बीच पाँच टेस्टको सिरिज अन्तर्गत पहिलो खेलको दोश्रो दिनको खेल समाप्त हुँदा राम्रो सुरुवात पछि लगातार विकेटले भारत दबाबमा रहेको छ।

इंग्ल्यान्डले पहिलो इनिंग्समा १८३ रन बनाएपछि भारतले पहिलो इनिंग्समा दोश्रो दिनको समाप्ति हुँदा ४६.५ ओभरमा १२५ रन बनाउदा ४ विकेट गुमाएको छ। भारत पहिलो इनिंग्समा अझै ५८ रनले पछि रहेको छ। वर्षाको कारण दोश्रो दिन ३३.५ ओभर मात्र खेल हुन सक्यो।

दिनको सुरुवात २१/० को अवस्थाबाट सुरु गरेको भारतले ९७ रनको योगफलमा रोहित शर्माको रुपमा पहिलो विकेट गुमाउन पुग्यो। ३६ रन बनाएका रोहितलाई ओली रोबिन्सनले क्याच आउट गराए। त्यसपछि जेम्स एण्डरसनले लगातार बलमा ४ रन बनाएका चेतेश्वर पुजारा र खाता नखोल्दै पहिलो बलमै कप्तान बिराट कोहलीलाई विकेटकिपर जोस बटलरबाट क्याच आउट गराए। ५ रन बनाएका अजिंके रहानेलाई जोनि बेयरस्टोले रन आउट गर्दै भारतलाई थप दबाब बनाए। फलस्वरुप ९७/० बाट भारत ११२/४ को अवस्थामा पुग्यो।

अर्को किनारमा विकेट गुमेता पनि ओपनर केएल राहुल एक किनारमा डटिरहेका छन्। राहुलले विकेटकिपर ब्याट्सम्यान रिशभ पन्तसंग १३ रनको साझेदारी गर्दा वर्षाले खेल रोकिन पुग्यो जसपछि खेल पुनः सुचारु हुन नसक्दा दिन समाप्तिको घोषणा भएको हो। राहुलले १५१ बलमा ९ चौका मद्दतले ५७ रन तथा पन्तले ८ बलमा १ चौका मद्दतले ७ रन बनाएका छन्।

इंग्ल्यान्डको बलिंगमा जेम्स एण्डरसनले २ विकेट ( १३.४-७-१५-२ ) तथा ओली रोबिन्सनले १ विकेट ( १५-५-३२-१ ) लिएका छन्।

खेलमा टस जितेर ब्याटिंग रोजेको इंग्ल्यान्डले पहिलो दिन सम्पूर्ण विकेट गुमाएर १८३ रन मात्र बनाउन सकेको थियो। उसको लागि कप्तान जो रुटले सर्वाधिक ६४ रन बनाएका थिए। भारतको बलिंगमा जस्प्रित बुम्राहले सर्वाधिक ४ विकेट, मोहम्माद शामीले ३ विकेट, शार्दुल ठाकुरले २ तथा मोहम्मद सिराजले १ विकेट लिएका थिए।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy