आश्विन चम्किदा भारत जिततर्फ अग्रसर

२०७७ फाल्गुन २, आईतवार १८:३६

इंग्ल्यान्डको भारत भ्रमण अन्तर्गत चेन्नाईमा जारि दोश्रो टेस्टको दोश्रो दिन समाप्तिमा भारत जिततर्फ अग्रसर देखिएको छ।

दोश्रो दिनको समाप्तिमा दोश्रो इनिंग्स ब्याटिंग सुरु गरेको भारतले १ विकेट गुमाएर ५४ रन बनाएको छ र २४९ रनको अग्रता हाँसिल गरिसकेको छ। रोहित शर्मा २५ रन तथा चेतेश्वर पुजार ७ रन बनाएर अविजित रहेका छन्। रोहितले शुबमन गिलसंग ४२ रनको ओपनिंग साझेदारी गरेका थिए। १४ रन बनाएका गिललाई ज्याक लिचले एलबिडब्लु आउट गरे।

टस जितेर ब्याटिंग गरेको भारतले पहिलो दिनको समाप्तिमा ६ विकेट गुमाएर ३०० रन बनाएको थियो। दोश्रो दिन बिहानी सत्रमा भारतले थप २९ रन जोड्दा सम्पूर्ण विकेट गुमाउन पुग्यो। रिशभ पन्तले अविजित ५८ रन बनाए। यस अघि पहिलो दिन भारतीय ओपनर रोहित शर्माले १६१ रन तथा अजिंके रहानेले ६७ रन बनाएका थिए। इंग्ल्यान्डको बलिंगमा अफ स्पिनर मोइन अलिले ४ विकेट, फास्ट बलर ओइ स्टोनले ३ विकेट, ज्याक लिचले २ विकेट तथा जोए रुटले १ विकेट लिए।

इंग्ल्यान्ड १३४ मै समेटियो 

पहिलो इनिंगमा बिहानी सत्रमा ब्याटिंग सुरु गरेको इंग्ल्यान्डले ५९.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो। भारतीय स्पिनरहरुको अगाडी इंग्ल्यान्ड ब्याट्सम्यानहरु निरिह सावित हुन पुगे।

इंग्ल्यान्डको लागि विकेटकिपर ब्याट्सम्यान बेन फोक्सले अविजित सर्वाधिक ४२ रन बनाए। ओली पोपले २२ रन, बेन स्टोक्सले १८ रन तथा डोमिनिक सिबलेले १६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। कप्तान जोए रुट ६ रन, ड्यानियल लरेन्सले ९ रन बनाउदा रोरी बर्न्सले खाता खोल्न सकेनन्।


इंग्ल्यान्डले पहिलो ५ विकेट ५२ रनको योगफलमा गुमाएको थियो जसपछि सातौँ नम्बरमा ब्याटिंग गर्न आएका फोकसले एक किनार सम्हालेर टिमको योगफल १०० रन पार गराएका थिए। उनले ओली पोपसंग छैठौं विकेटको लागि ३५ रनको साझेदारी गरे जुन इंग्ल्यान्ड इनिंग्सको सर्वाधिक साझेदारी रह्यो।

भारतको बलिंगमा अफ स्पिनर रभीचन्द्रन आश्विनले सर्वाधिक ५ विकेट लिए जुन क्रममा २३.५ ओभरमा ४ मेडन ओभर गर्दै ४३ रन खर्चिए। टेस्ट क्रिकेटमा आश्विनले २९ औं पटक ५ विकेट हात पारेका हुन्। यस अघि पहिलो टेस्टमा पनि आश्विनले पहिलो इनिंग्समा ३ र दोश्रो इनिंग्समा ६ गरि कुल ९ विकेट लिएका थिए। यस्तै पहिलो टेस्ट खेलीरहेका देब्रे हाते स्पिनर अक्षर पटेल र फास्ट बलर इशान्त शर्माले समान २ विकेट तथा मोहम्मद सिराजले १ विकेट लिए।

सिरिजमा इंग्ल्यान्ड १-० ले अघि रहेको छ। पहिलो टेस्टमा इंग्ल्यान्ड २२७ रनले विजयी भएको थियो। दुई टिम बीच ४ वटा टेस्ट म्याचको सिरिज पछि ५ वटा टि-२० अन्तर्राष्ट्रिय र ३ वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज खेल्ने तालिका रहेको छ।

https://www.youtube.com/watch?v=QNwdmqrbAGs

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy