दोश्रो टेस्टमा भारतद्वारा इंग्ल्यान्ड रेकर्ड रन अन्तरले पराजित

२०७७ फाल्गुन ४, मंगलवार १३:२३

इंग्ल्यान्डको भारत भ्रमण अन्तर्गत दोश्रो टेस्टमा घरेलु टिमले ३१७ रनको विशाल जित दर्ता गर्दै सिरिज १-१ को बराबरीमा ल्याएको छ। पहिलो टेस्ट इंग्ल्यान्डले २२७ रनले जितेको थियो।

३१७ रनको जित रन अन्तरको आधारमा भारतको पाँचौ ठुलो जित हो। रन अन्तरको आधारमा यो इंग्ल्यान्डको एसियामा सबैभन्दा ठुलो हार हो। जितसंगै एसियामा इंग्ल्यान्डको विजयी यात्राको पनि भारतले अन्त्य गरेको छ। यस अघि एसियामा खेलिएको अघिल्लो ६ टेस्टमा इंग्ल्यान्ड विजयी भएको थियो।

जितपछि आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिप अंकतालिकामा भारत चौथोबाट दोश्रो स्थानमा उक्लेको छ भने इंग्ल्यान्ड चौथो स्थानमा झरेको छ। न्युजिल्यान्ड पहिलो र अस्ट्रेलिया तेश्रो स्थानमा रहेको छ।

टेस्टको चौथो दिन भारतले दिएको ४८२ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्ड दोश्रो सेसनमा सम्पूर्ण विकेट गुमाउदै १६४ रन मात्र बनाउन सक्यो। सन् १९९५ पछि इंग्ल्यान्ड पहिलो पटक दुवै इनिंग्समा ३०० भन्दा कम रनमा अलआउट भएको हो।

लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डको लागि मोइन अलिले सर्वाधिक ४३ रन बनाए जुन क्रममा १८ बलमा ३ चौका र ५ छक्का प्रहार गरे। कप्तान जो रुटले ३३, ड्यानियल लरेन्सले २६ तथा रोरी बर्न्सले २५ रन बनाए। इनिंग्सको अन्तिममा मोइन अलिले आक्रामक ब्याटिंग गरे हारको अन्तर कम गरेका थिए।

भारतको बलिंगमा डेब्यु गरिरहेका देब्रे हाते स्पिनर अक्षर पटेलले ५ विकेट ( २१-५-६०-५ ) लिए। अक्षर पटेल डेब्यु टेस्टमा ५ विकेट लिने दोश्रो भारतीय स्पिनर तथा समग्रमा नवौं भारतीय बलर बनेका छन्। यस अघि सन् १९७९ मा अस्ट्रेलिया बिरुद्ध डेब्यु टेस्टमा दिलिप दोषीले ६ विकेट लिएका थिए। रभीचन्द्रन आश्विनले ३ विकेट ( १८-५-५३-३  ) तथा कुलदिप यादवले २ विकेट ( ६.२-१-२५-२ ) लिए।

खेलको प्लेयर अफ द म्याच शतक तथा कुल ८ विकेट लिएका अलराउण्डर रभीचन्द्रन आश्विन चुनिए।

अक्षर पटेलले ५ विकेट लिए

टेस्टमा टस जितेर ब्याटिंग गरेको भारतले पहिलो इनिंग्समा रोहित शर्माले १६१ रन मद्दतले ३२९ रन बनाएको थियो। रभीचन्द्रन आश्विनले ५ विकेट लिंदा इंग्ल्यान्डले पहिलो इनिंग्समा १३४ रन मात्र बनाएको थियो। आश्विनले १०६ रन बनाउदा भारतले दोश्रो इनिंग्समा २८६ रन बनाउदै इंग्ल्यान्डलाई ४८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

सिरिज अन्तर्गत तेश्रो टेस्ट फेब्रुअरी २४ तारिख देखि अहमदावादमा सुरु हुनेछ। चौथो टेस्ट पनि अहमदावादमानै मार्च ४ देखि सुरु हुनेछ। टेस्ट सिरिज पछि दुई देश बीच मार्च १२ देखि ५ वटा टि-२० अन्तर्राष्ट्रियको तथा मार्च २३ देखि ३ वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज खेलिनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy