‘गर या मर’ को खेलमा भारतद्वारा इंग्ल्यान्डलाई १८६ रनको लक्ष्य

२०७७ चैत्र ५, बिहीबार २१:१९

भारत र इंग्ल्यान्ड बीच पाँचवटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत चौथो खेल नरेन्द्र मोदी स्टेडियम अहमदावादमा जारि रहेको छ।

खेलमा टस हारेर ब्याटिंग गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८५ रन बनाउदै इंग्ल्यान्डलाई १८६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

भारतीय ओपनर रोहित शर्मा चौथो ओभरमा १२ रन बनाएर जोफ्रा आर्चरबाट कट एण्ड बोल्ड हुन पुगे। तेश्रो नम्बरमा ब्याटिंग गर्न आएका सूर्यकुमार यादवसंग केएल राहुलले ४२ रनको साझेदारी गरे। १७ बलमा १४ रन बनाएका राहुललाई बेन स्टोक्सले आठौँ ओभरमा क्याच आउट गरे। लगत्तै ओभरमा कप्तान बिराट कोहली ५ बलमा १ रन बनाएर आदील रशिदबाट स्टम्प आउट भए।

चौथो विकेटको लागि यादवले रिशभ पन्तसंग ४० रनको साझेदार गरे। १४ औं ओभरमा यादवलाई स्याम करनले क्याच आउट गराए। यादवले ३१ बलमा ६ चौका र ३ छक्का मद्दतले ५७ रन बनाए। तर यादवको क्याच विवादास्पद रह्यो। अनफिल्ड अम्पायरले सफ्ट सिग्नल आउट दिंदै टिभी अम्पायरलाई निर्णय रिफर गरेका थिए तर टिभी अम्पायरले लामो समय रिप्ले हेरेपछि पनि निर्णय दिन नसकेपछि अनफिल्ड अम्पायरको सफ्ट सिग्नललाई आधार मानेर आउट दिएका थिए।


यादवले मात्र २८ बलमा अर्धशतक पुरा गरेका थिए। यादवले खेलमा सामना गरेको जोफ्रा आर्चरको पहिलो बलमै छक्का हिर्काएका थिए। सिरिजको दोश्रो खेलमा डेब्यु गरेता पनि यादवले ब्याटिंग गर्न पाएका थिएनन्। भारतको लागि डेब्यु टि-२० अन्तर्राष्ट्रिय इनिंग्समा अर्धशतक बनाउने यादव पाँचौ खेलाडी हुन्। यस अघि रोबिन उथप्पा, रोहित शर्मा, अजिंके रहाने र इशान किशनले यो उपलब्धि हाँसिल गरेका थिए।

यादवको विकेट पछि रिशभ पन्तले श्रेयस ऐयरले ३४ रनको साझेदारी गरे। २३ बलमा ४ चौका मद्दतले ३० रन बनाएका पन्तलाई आर्चरले बोल्ड गरे। त्यसपछि ऐयरले हार्दिक पान्ड्यासंग २६ रन जोडे। १९ औं ओभरमा मार्क वुडले ११ रन बनएका पान्ड्यालाई क्याच आउट गराए।

आर्चरले ४ विकेट लिए

अन्तिम ओभरको पहिलो बलमा १८ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३८ रन बनाएका ऐयरलाई आर्चरले क्याच आउट गराए। ओभरको चौथो बलमा आर्चरले ४ रन बनाएका वासिंगटन सुन्दरलाई क्याच आउट गराए। शार्दुल ठाकुर ४ बलमा २ चौका मद्दतले १० रन बनाउदै अविजित रहे।

इनिंग्सको अन्तिम ५ ओभरमा भारतले ४ विकेट गुमायो भने ५७ रन बनायो।

इंग्ल्यान्डको बलिंगमा जोफ्रा आर्चरले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा ३३ रन खर्चिए। मार्क वुड ( ४-१-२५-१ ), आदील रशिद ( ४-१-३९-१ ), बेन स्टोक्स ( ३-०-२६-१ ) र स्याम करन ( १-०-१६-१ ) ले समान १ विकेट लिए।

पाँच खेलको सिरिजमा इंग्ल्यान्ड २-१ ले अघि रहेको छ त्यसैले सिरिज जित्ने सम्भावना बाँकी राख्न भारतलाई आज जित्ने पर्ने आवस्यकता रहेको छ। पहिलो खेलमा इंग्ल्यान्ड ८ विकेटले विजयी भएको थियो जसपछि दोश्रो खेल भारतले ७ विकेटले जितेको थियो। तेश्रो खेल ८ विकेटले जित्दै इंग्ल्यान्डले अग्रता हाँसिल गरेको थियो।

धेरैले पढेको 

https://wicketnepal.com/romanchak-khel-rsser-in-wi/

https://wicketnepal.com/spl-3-auction-news-wn21/

https://wicketnepal.com/icc-dwara-2-uae-cric-8-barshe/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy