दोश्रो टेस्टमा इंग्ल्यान्डलाई १५१ रनले पराजित गर्दै भारतले पाँच टेस्टको सिरिजमा १-० को अग्रता लिएको छ। सिरिज अन्तर्गत पहिलो टेस्ट वर्षाले प्रभावित हुँदा बराबरीमा टुंगिएको थियो।
लर्ड्समा सम्पन्न खेलमा २७२ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डले ५१.५ ओभरमा १२० रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो।
लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्ड ओपनर रोरी बर्न्स र डम सिबले पहिलो र दोश्रो ओभरमा खाता नखोली जस्प्रित बुम्राह र मोहम्मद शामीबाट क्याच आउट भए। तेश्रो विकेटको लागि हसिब हमिद र कप्तान जो रुटले ४२ रनको साझेदारी गरे। हमिदलाई इशान्त शर्माले एलबिडब्लु गरे जसपछि इंग्ल्यान्डले पुनः नियमित विकेट गुमायो। २ रन बनाएका जोनी बेयरस्टोलाई पनि इशान्तले एलबिडब्लु पारे भने ३३ रन बनाएका रुटलाई बुम्राहले क्याच आउट गराए। जोस बटलरले मोईन अलिसंग २३ रनको साझेदारी गरे। १३ रन बनाएका अलि र लगत्तै बलमा खाता नखोल्दै स्याम करनलाई मोहम्मद सिराजले पेभेलियन फर्काए।
बटलरले आठौं विकेटको लागि ओली रोबिन्सनसंग २७ रनको साझेदारी गरे। ९ रन बनाएका रोबिन्सनलाई एलबिडब्लु पार्दै बुम्राहले भारतलाई पुनः खेलमा फर्काए। त्यसपछि मोहम्मद सिराजले ५२ औं ओभरमा २५ रन बनाएका जोस बटलरलाई क्याच आउट तथा खाता नखोल्दै जेम्स एण्डरसनलाई बोल्ड गर्दै भारतलाई जित दिलाए।
India win 👏
A sensational performance on day five helps them go 1-0 up in the five-match series!#WTC23 | #ENGvIND | https://t.co/rhWT865o91 pic.twitter.com/fOxpZ3s8j9
— ICC (@ICC) August 16, 2021
भारतको बलिंगमा मोहम्मद सिराजले ४ विकेट ( १०.५-३-३२-४ ) लिए भने जस्प्रित बुम्राहले ३ ( १५-३-३३-३ ) , इशान्त शर्माले २ विकेट ( १०-३-१३-२ ) तथा मोहम्मद शामीले १ विकेट ( १०-५-१३-१ ) लिए।
यस अघि पाँचौ दिनको सुरुवात १८१/६ को अवस्थाबाट गरेको भारतले पहिलो सेसन पुरै र दोश्रो सेसनमा ९ बल ब्याटिंग गर्दै पारि समाप्तिको घोषणा गर्यो। २ विकेट मात्रै गुमाएर योगफलमा ११७ रन जोड्दै भारतले दिनको ६० ओभर खेल बाँकी रहंदा २७२ रनको लक्ष्य प्रस्तुत गर्यो। रिशभ पन्त २२ तथा इशान्त शर्मा १६ रन बनाएर आउट भएपछि नवौं विकेटको लागि मोहम्मद शामी र जस्प्रित बुम्राहले ८९ रनको साझेदारी गरे। यस क्रममा शामीले टेस्ट करियरको दोश्रो अर्धशतक पुरा गर्दै ७० बलमा ६ चौका र १ छक्का मद्दतले ५६ रन बनाए। बुम्राहले ६४ बलमा ३ चौका मद्दतले ३४ रन बनाए। यस अघि भारतको लागि अजिंके रहानेले ६१ रन तथा चेतेश्वर पुजाराले ४५ रन योगदान दिएका थिए।
टेस्टमा टस हारेर ब्याटिंग गरेको भारतले पहिलो इनिंग्समा ३६४ रन बनएको थियो भने इंग्ल्यान्डले पहिलो इनिंग्समा ३९१ रन बनाएको थियो। भारतले दोश्रो इनिंग्समा २९८/८ मा इनिंग्स समाप्तिको घोषणा गरेको थियो।
टेस्ट समरी – भारत पहिलो इनिंग्स : ३६४ ( केएल राहुल – १२९ , रोहित शर्मा ८३, जेम्स एण्डरसन – ५ विकेट ) , इंग्ल्यान्ड पहिलो इनिंग्स : ३९१ ( जो रुट – १८० , मोहम्मद सिराज – ४ विकेट, इशान्त शर्मा – ३ विकेट ) , भारत दोश्रो इनिंग्स : २९८/८ पारि घोषित ( अजिंके रहाने – ६१ , मोहम्मद शामी – ५६ , मार्क वुड- ३ विकेट ) , इंग्ल्यान्ड दोश्रो इनिंग्स : १२० ( जो रुट – ३३ , मोहम्मद सिराज – ४ विकेट )