रुटको शतक मद्दतले इंग्ल्यान्डद्वारा भारतलाई २०९ रनको लक्ष्य, बुम्राहको घातक बलिंग

२०७८ श्रावण २३, शनिबार २२:३५

दोश्रो इनिंग्समा इंग्ल्यान्डले ३०३ रनमा सम्पूर्ण विकेट गुमाएपछि भारत बिरुद्ध जारी पाँच टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्टमा इंग्ल्यान्डले भारतलाई २०९ रनको लक्ष्य प्रस्तुत गरेको छ। चौथो दिनको अन्तिम सत्रको खेल बाँकी रहंदा भारतले केहि बेरमा ब्याटिंग सुरु गर्नेछ।

दिनको बिहानी सत्रमा भारतले इंग्ल्यान्ड ओपनर रोरी बर्न्स र ज्याक क्रलेलाई पेभेलियन फर्काए। १८ रन बनाएका बर्न्सलाई मोहम्मद सिराजले तथा ६ रन बनाएका क्रलेलाई जस्प्रित बुम्राहले विकेटकिपर रिशभ पन्तबाट क्याच आउट गराए।

तेश्रो विकेटको लागि ओपनर डोमिनिक सिबले र कप्तान जो रुटले ८९ रनको साझेदारी गरे। २८ रन बनाएका सिबलेलाई बुम्राहले विकेटकिपर पन्तबाट क्याच आउट गराए। त्यसपछि रुटले जोनी बेयरस्टोसंग ४२ रन जोडे। बेयरस्टोलाई सिराजले क्याच आउट गराए। त्यसपछि शार्दुल ठाकुरले २५ रन बनाएका ड्यानियल लरेन्स र १७ रन बनाएका जोस बटलरलाई पेभेलियन फर्काए।

टेस्ट करियरको २१ औं शतक पुरा गरेपछि कप्तान रुटलाई जस्प्रित बुम्राहले विकेटकिपर पन्तबाट क्याच आउट गराए। ३ वर्ष पछि घरेलु मैदानमा शतक बनाएका रुटले १७२ बलमा १४ चौका प्रहार गरे। रुटको विकेटपछि स्याम करनले ३२ रन बनाउदै अग्रता बढाए जसलाई बुम्राहले क्याच आउट गराए। लगत्तै बलमा बुम्राहले स्टुवार्ट ब्रोडलाई बोल्ड गरे। त्यसपछि १५ रन बनाएका ओली रोबिन्सनलाई मोहम्मद शामीले पेभेलियन फर्काउदै इंग्ल्यान्डलाई अल आउट पारे।

भारतको बलिंगमा जस्प्रित बुम्राहले सर्वाधिक ५ विकेट लिए जुन क्रममा १९ ओभरमा २ मेडन ओभर गर्दै ६४ रन खर्चिए। बुम्राहले टेस्टमा छैठौं पटक ५ विकेटको प्रदर्शन गरेका हुन्। मोहम्मद सिराज ( २५-३-८४-२ ) र शार्दुल ठाकुर ( १३-१-३७-२ ) ले समान २ विकेट तथा मोहम्मद शामीले १ विकेट ( १५.५.-१-७२-१ ) लिए।

टेस्टको पहिलो इनिंग्समा इंग्ल्यान्डले १८३ रन बनाएको थियो भने भारतले पहिलो इनिंग्समा २७८ रन बनाउदै ९५ रनको अग्रता हाँसिल गरेको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy