भारतलाई ८ विकेटले पराजित गर्दै न्युजिल्यान्डले पहिलो संस्करणको आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ।
२०१५ र २०१९ को पछिल्लो दुई एकदिवसीय विश्वकपको फाइनलमा पराजित भएको न्युजिल्यान्ड यस पटक भने आईसीसी प्रतियोगिताको उपाधि जित्न सफल भएको हो।
उपाधि सहित न्युजिल्यान्डले १६ लाख अमेरिकी डलर ( करिब १९ करोड नेपाली रुपैयाँ ) पुरस्कार जितेको छ। यस्तै उपविजेता भारतले ८ लाख अमेरिकी डलर ( करिब ९ करोड ४८ लाख रुपैयाँ हात पार्यो।
इंग्ल्यान्डको साउथह्याम्पटनमा सम्पन्न खेलमा भारतले दिएको १३९ रनको लक्ष्य न्युजिल्यान्डले मात्र २ विकेट गुमाएर ४५.५ ओभरमा भेटायो।
खेलमा टस हारेर भारतले पहिले ब्याटिंग गर्दा पहिलो इनिंग्समा २१७ रन बनाएको थियो। न्युजिल्यान्डले पहिलो इनिंग्समा २४९ रन बनाएको थियो। भारतले दोश्रो इनिंग्समा १७० रन बनाएपछि जितको लागि न्युजिल्यान्डलाई १३९ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्ड ओपनर टम लाथम र डेभोन कनवेले ३० रनको साझेदारी गरेका थिए। रभीचन्द्रन आश्विनले ९ रन बनाएका लाथमलाई स्टम्पिंग तथा १९ रन बनाएका कनवेलाई एलबिडब्लु गर्दै भारतलाई खेलमा फर्काएका थिए।
तेश्रो विकेटको लागि कप्तान केन विलीयमसन र रस टेलरले अविजित ९६ रनको साझेदारी गर्दै टिमलाई जितसम्म डोर्याए। विलियमसन ८९ बलमा ८ चौका मद्दतले ५२ रन तथा टेलर १०० बलमा ६ चौका मद्दतले ४७ रनमा अविजित रहे।
भारतको बलिंगमा रभीचन्द्रन आश्विनले २ विकेट हात पारे जुन क्रममा १० ओभरमा ५ मेडन ओभर गर्दै १७ रन खर्चिए।