श्रीलंका भ्रमणमा रहेको पाहुना टोली भारतले पहिलो टि ट्वान्टी खेलमा जित हात पारेको छ । जितसँगै भारतले तीन खेलको टि ट्वान्टी सिरिजमा १-० अग्रता लिएको छ । यसै खेलबाट भारतीय मुख्य प्रशिक्षकको जिम्मेवारी लिएका गौतम गम्भिरको सुरुआत राम्रो भएको छ ।
श्रीलंकाको पाल्लीखेलेमा भएको खेलमा पाहुना टोलीले ४३ रनको जित निकाल्यो ।
भारतले दिएको २१४ रनको लक्ष्य पछ्याएको श्रीलंका १९.२ ओभरमा अल आउट हुदै १७० रन मात्र बनायो ।
श्रीलंकाका लागि ओपनर पथुम निशंकाले सर्वाधिक ७९ रन बनाए । उनले ४८ बलमा ७ चौका र ४ छक्का प्रहार गरे । अर्का ओपनर कुशल मेन्डिसले २७ बलमा ७ चौका र १ छक्काको सहयोगमा ४५ रन बनाए । पहिलो विकेटका लागि निशंका र मेन्डिसले ८.४ ओभरमा ८४ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाए पनि लगातार विकेट गुमाउँदा श्रीलंकाले हार टार्न सकेन ।
कुशल परेराले २०, कमान्डु मेन्डिसले १२ र मथिशा पथिरानाले ६ रन बनाए ।
भारतका लागि रियान परागले तीन, अर्शदिप सिंह र अक्षर पटेलले समान दुई तथा मोहम्मद सिराज र रवि बिष्नोईले समान एक रन बनाए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१३ रन बनाएको थियो ।
भारतका लागि कप्तान सुर्यकुमार यादवले सर्वाधिक ५८ रन बनाए । उनले २६ बलमा ८ चौका र २ छक्का प्रहार गरे ।
रिषभ पन्तले ३३ बलमा ४९ रन बनाउँदा ओपनर यशस्वी जैसवालले २१ बलमा ४० रन बनाए । शुभमन गिलले ३४, अक्षर पटेलले अविजित १० तथा हार्दिक पान्ड्याले ९ रन बनाए ।
श्रीलंकाका लागि मथिशा पथिरानाले चार ओभरमा ४० रन खर्चिएर चार विकेट लिए । दिल्शान मधुशंका, आसिथा फर्नान्डो र वानिन्दु हसरंगाले समान एक विकेट लिए ।
दुई देशबीचको दोस्रो टिट्वान्टी आई खेल आईतबार रहेको छ ।