जिम्बावेमाथि भारतको लगातार दोस्रो जित

२०८१ असार २७, बुधबार २०:३४

काठमाडौं । पाँच खेलको टी-२० आई सिरिजका लागि जिम्बावे भ्रमणमा रहेको भारतीय टोलीले घरेलु टोलीमाथि तेस्रो खेलमा पनि पराजित गरेको छ ।

हरारेमा भएको सिरिज अन्तर्गतको तेस्रो खेलमा घरेलु टोलीलाई भारतले २३ रनको अन्तरले पराजित गर्यो ।

भारतले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५९ रन मात्र बनाउन सक्यो ।

घरेलु टोलीका लागि डिअन मार्यस्ले ४९ बलमा ६५ रनको अर्धशतकीय ईनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । क्लेलिभ मदान्दीले २६ बलमा ३७ तथा वेलिङ्टन मासाकाट्जाले १० बलमा अविजित १८ रन बनाए ।

भारतका लागि वासिङ्टन सुन्दरले तीन तथा आबेश खानले दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो ।

भारतका लागि ओपनर तथा कप्तान शुभमन गिललले ४९ बलमा ६६ रनको अर्धशतकीय ईनिङ खेले । ऋतुराज गायकवाडले २८ बलमा ४९ तथा ओपनर यशस्वी जैसवालले २७ बलमा ३७ रन बनाए ।

जिम्बावेका लागि ब्लेसिङ मुजवानी र कप्तान सिकन्दर राजाले समान दुई दुई विकेट लिए ।

पहिलो खेलमा पराजित भएपनि लगातार दोस्रो जितसँगै भारतले पाँच खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy