बोल्टको घातक बलिङ्ग अघि भारतको लज्जास्पद ब्याटिंग, ९२ रनमै अल-आउट

ट्रेन्ट बोल्टले घातक बलिङ्ग गरेपछि न्युजिल्याण्डमा जारि एकदिवसीय सिरिजमा घरेलु टिमले भारतलाई ९२ रनमा अल-आउट गरेको छ।

५ एकदिवसीयको सिरिज ०-३ ले गुमाई सकेको अवस्थामा न्युजिल्याण्डले चौथो एकदिवसीयमा बल्ल भारतलाई चुनौती दिएको हो।

ह्यामिल्टन, सेडन पार्क मैदानमा टस जितेर न्युजिल्याण्डले बलिङ्ग रोजेको थियो। पहिलो विकेटको लागि भारतीय ओपनर शिखर धवन र रोहित शर्माले २१ रन बनाए पछि बोल्टले विकेट पतनको सुरुवात गरेका थिए।

धवनलाई छैठौं ओभरमा बोल्टले एलबिडब्लु गरेपछि रोहितलाई बोल्टले आफ्नै हातबाट क्याच आउट गराए। त्यसपछि भारतले लगातार विकेट गुमाउने क्रममा अम्बाती रायडु ९ रन, दिनेश कार्तिक ० , शुब्मन गिल ९ , केदार जाधब १ , भुवनेश्वर कुमार १ रनमा पेभेलियन फर्किए।

२१/१ बाट भारत ४०/७ को अवस्थामा पुग्यो। भारतको लाज थोरै भए पनि ढाक्न अन्तिममा हार्दिक पान्ड्याले १६, कुलदिप यादबले १५ तथा युज्भेन्द्र चाहलले अविजित १८ रन बनाए।

३०.५ ओभरमा भारतले ९२ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

भारतलाई सस्तोमा समेट्न न्युजिल्याण्ड फास्ट बलर ट्रेन्ट बोल्ट एक्लैले ५ विकेट लिए जुन क्रममा १० ओभरमा ४ मेडन ओभर गर्दै २१ रन खर्चिए। यस्तै कोलिन ग्रयाण्डहोमीले ३ विकेट लिए।

एकदिवसीय क्रिकेटमा भारतको यो इतिहासकै सातौँ कम योगफल हो। सन् २००० मा भारत श्रीलंका बिरुद्ध ५४ रनमा समेटिएको थियो जुन सबैभन्दा कम योगफल हो।

खेलमा सुब्मन गिल भारतको लागि डेब्यु गरिरहेका छन्। सिरिज जितेपछि कप्तान बिराट कोहली, महेन्द्र सिंह धोनी जस्ता ब्याट्सम्यानलाई आराम दिईएको छ।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy