- विकेटनेपाल, असार १ – शुक्रबार
भारतसंग टेस्ट क्रिकेटमा पदार्पण गरेको अफगानिस्तानले लज्जास्पद प्रदर्शन गर्दै इनिंग र २६२ रनको बिशाल अन्तरको पराजय बेहोरेको छ। बैङ्गोरमा दोश्रो दिनमै टेस्टको नतिजा आउने क्रममा अफगानिस्तानले खराब ब्याटिंग प्रस्तुत गर्दै एकै दिन २ पटक सम्पूर्ण विकेट गुमाउन पुग्यो।
भारतले टस जितेर ब्याटिंग गर्दै दोश्रो दिन अलआउट हुँदै ४७४ रन बनाएपछि ब्याटिंग सुरु गरेको नव टेस्ट टिम अफगानिस्तानले पहिलो इनिंगमा २७.५ ओभर खेल्दै १०९ रनमै सबै विकेट गुमाउन पुग्यो। भारतले फलो-अन दिएपछि पुनः ब्याटिंग गर्न उत्रेको अफगानिस्तानले लज्जास्पद ब्याटिंग प्रदर्शनलाई निरन्तरता दियो र ३८.४ ओभरमा १०३ रनमै सबै विकेट गुमाउन पुग्यो।
खेलको प्लेयर अफ द म्याच पहिलो इनिंगमा आक्रामक शतक बनाएका शिखर धवन घोषित भए जसले १०७ रन बनाउन मात्र ९६ बलमा १९ चौका र ३ छक्का प्रहार गरेका थिए। धवन टेस्टको पहिलो सत्रमा शतक बनाउने एकमात्र भारतीय खेलाडी समेत भएका थिए। भारतको इनिंगमा अर्का ओपनर मुरली विजयले १०५ रन तथा हार्दिक पान्ड्याले ७१ तथा केएल राहुलले ५४ रन योगदान दिएका थिए। अफगानिस्तान बलर यमिन अहमदजाईले सर्वाधिक ३ विकेट तथा वफादार र राशिद खानले समान २/२ विकेट लिए।
अफगानिस्तानको लागि पहिलो इनिंगमा मोहम्मद नाबीले सर्वाधिक २४ रन बनाएका थिए भने दोश्रो इनिंगमा हशमतुल्लाह शाहिदीले सर्वाधिक ३६ तथा कप्तान अस्गर स्टानिकजाईले २५ रन योगदान दिए। अफगानिस्तानलाई टेस्ट क्रिकेटको स्वाद चखाउन भारतको लागि पहिलो इनिंगमा रबिचन्द्रन आश्विनले ४ विकेट तथा दोश्रो इनिंगमा रबिन्द्र जडेजाले ४ विकेट हात पारे।
टेस्टको दोश्रो दिन भारतले ३४७/६ को अवस्थाबाट दिनको सुरुवात गरेपछि बाँकी ४ विकेट गुमायो जसपछि एकै दिन अफगानिस्तान २ पटक अलआउट हुँदै २० विकेट गुमाएपछि थुप्रै नयाँ रेकर्डहरु बनेका छन्।
एकै दिनमा २ पटक आउट हुने टिमहरु :-
बिगत ११५ बर्ष धेरै टेस्टको एकैदिनमा यति धेरै ( २४ विकेट ) विकेट खसेको यो पहिलो पटक हो।
भारत ( ५८ र ८२ ) – इंग्ल्याण्डसंग ( सन् १९५२ )
जिम्बाबे ( ५९ र ९९ ) – न्युजिल्याण्डसंग ( २००५/६ )
जिम्बाबे ( ५१ र १४३ ) – न्युजिल्याण्डसंग ( २०११/१२ )
अफगानिस्तान ( १०९ र १०३ ) – भारतसंग ( २०१८ )
टेस्टमा एकै दिन खसेको सबैभन्दा धेरै विकेट
अस्ट्रेलिया – २७ विकेट ( दोश्रो दिन ) – इंग्ल्याण्डसंग ( सन् १९८८ )
इंग्ल्याण्ड – २५ विकेट ( पहिलो दिन ) – अस्ट्रेलियासंग ( सन् १९०२ )
अस्ट्रेलिया – २४ विकेट ( दोश्रो दिन ) – इंग्ल्याण्डसंग ( सन् १८९६ )
अफगानिस्तान – २४ विकेट ( दोश्रो दिन ) – भारतसंग ( सन् २०१८ )
अस्ट्रेलिया – २३ विकेट ( दोश्रो दिन ) – दक्षिण अफ्रीकासंग ( सन् २०११ )
भारतको सबैभन्दा ठुलो जित
इनिंग र २६२ रन – अफगानिस्तानसंग ( २०१८ )
इनिंग र २३९ रन – बंगलादेशसंग ( सन् २००७ )
इनिंग र २३९ रन – श्रीलंकासंग ( सन् २०१७ )
इनिंग र २१९ रन – अस्ट्रेलियासंग ( सन् १९९८ )
इनिंग र १९८ रन – न्युजिल्याण्डसंग ( सन् २०१० )
रेकर्ड श्रोत – क्रिक्इन्फो