टि-२० विश्वकपको सेमीफाइनल समीकरण पुरा, सेमीमा कोसंग कहिले छ खेल ?

जिम्बाब्वेलाई ७१ रनको विशाल अन्तरले पराजित गर्दै भारत सुपर-१२ चरणको समुह ‘२’ को विजेताको रुपमा टि-ट्वान्टी विश्वकपको सेमीफाइनल प्रवेश गरेको छ। सुपर-१२ चरणमा दक्षिण अफ्रीकासंग पराजित भएको भारतले पाकिस्तान, नेदरल्याण्ड, बंगलादेशलाई पराजित गरेको थियो। ५ खेलमा ८ अंक सहित भारत समुहमा पहिलो र ५ खेलमा ६ अंक सहित पाकिस्तान दोश्रो स्थानमा रह्यो।

यो संगै अस्ट्रेलियामा जारी विश्वकपको सेमीफाइनल समीकरण पनि पुरा भएको छ। समुह ‘१’ बाट विजेताको रुपमा न्युजिल्यान्ड र उपविजेताको रुपमा इंग्ल्यान्ड तथा समुह ‘२’ बाट विजेताको रुपमा भारत र उपविजेताको रुपमा पाकिस्तान सेमीफाइनल प्रवेश गरेका छन्।

प्रतियोगिताको पहिलो सेमीफाइनलमा नोभेम्बर ९ तारिख बुधबार न्युजिल्यान्ड र पाकिस्तान प्रतिस्पर्धा गर्नेछन्। यस्तै नोभेम्बर १० तारिख बिहिबार दोश्रो सेमीफाइनलमा इंग्ल्यान्ड र भारत प्रतिस्पर्धा गर्नेछन्।

मेलबर्न क्रिकेट ग्राउण्डमा भारतले दिएको १८७ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले १७.२ ओबरमा ११५ रन जोड्दा सम्पूर्ण विकेट गुमायो।

जिम्बाब्वेको लागि रायन बर्लले सर्वाधिक ३५ तथा सिकन्दर रजाले ३४ रन बनाए। ३६ रनमा ५ विकेट गुमाएको अवस्थामा रजा र बर्लले ६० रनको साझेदारी गरे। चौधौं ओभरमा बर्ललाई आश्विनले बोल्ड गरेपछि भारत पुनः पूर्णतः खेलमा हावी भयो।

भारतको बलिंगमा रभीचन्द्रन आश्विनले सर्वाधिक ३ विकेट ( ४-०-२२-३ ) लिंदा मोहम्मद शामी र हार्दिक पान्ड्याले २/२ विकेट लिए। भुवनेश्वर कुमार, अर्शदिप सिंह र अक्षर पटेलले १/१ विकेट लिए।

यस अघि भारतले टस जितेर ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट क्षेतीमा १८६ रन बनायो। सुर्यकुमार यादवले मात्र २५ बलमा ६१ रन बनाउने क्रममा ६ चौका र ४ छक्का प्रहार गरे। केएल राहुलले ३५ बलमा ३ चौका र ३ छक्का मद्दतले ५१ रन बनाए। बिराट कोहलीले २६, हार्दिक पान्ड्याले १८ तथा रोहित शर्माले १५ रन बनाए।

१०१ रनमा ४ विकेट गुमेको अवस्थाबाट सुर्यकुमारले हार्दिक पान्ड्यासंग पाँचौ विकेटको लागि ३५ बलमा ६५ रनको साझेदारी गरे। यादवले मात्र २३ बलमा अर्धशतक पुरा गरे। जिम्बाब्वेका सिन विलियम्सले ९ रन खर्चेर  २ विकेट लिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy