पहिलो दिन भारतको संघर्ष, अस्ट्रेलिया २७७/६ को अवस्थामा

  • विकेटनेपाल, मङ्सिर २८ – शुक्रबार

भारत बिरुद्दको ४ टेस्ट खेलको सिरिज अन्तर्गतको दोश्रो टेस्टको पहिलो दिन घरेलु टिम अस्ट्रेलियाले राम्रो सुरुवात गरेको छ। उसले दिनको समाप्तीमा ६ विकेट गुमाउँदै २७७ रन बनाएको छ। उसका कप्तान टिम पेन १६ रन र प्याट कमिन्स ११ रन बनाएर क्रिजमा छन्।

पर्थ स्टेडियममा जारि खेलमा तिब्र गतिका बलरलाई मद्दत पुग्ने इतिहास रहेकोले ताजा अवस्थामा घरेलु टिम पाहुना टिम भारतभन्दा अगाडी रहेको क्रिकेट पण्डितहरु बताउँछन्। एडिलेडमा भएको पहिलो टेस्ट जितेको भारत शृंखलामा १-० ले अगाडी रहेको छ।

फिन्च र ह्यारिसको शतकीय साझेदारी

कप्तान टिम पेनले टस जितेर पहिले ब्याटिंग गर्ने निर्णयलाई सार्थक तुल्याउन अस्ट्रेलियाका ओपनरद्वयले उत्कृस्ट साझेदारी गरे। एरोन फिंचले ५० रन तथा रायन ह्यारिसले ७० रन बनाउँदै पहिलो विकेटको लागि ११२ रनको साझेदारी गरेका थिए।

पहिलो विकेटको रुपमा जस्प्रित बुम्राहको बलमा ३५.२ ओभरमा एलबिडब्ल्युको सिकार हुनुअघि फिंचले १०५ बलमा ६ चौका प्रहार गरेका थिए। यो उनको टेस्ट करियरको सातौँ पारीमा दोश्रो अर्धशतक रहेको छ।

यस्तै तेस्रो विकेटको रुपमा स्लिपमा अजिंक्या रहानेको हातबाट क्याच आउट हुनुअघि ह्यारिसले १४१ बलको सामना गर्दै १० चौका प्रहार गरेका थिए। पार्टटाइम अफस्पिनर हनुमान विहारीले अफस्टम्प बाहिर फालेको बललाई कट सट प्रहार गर्न खोज्दा ह्यारिसले दोश्रो स्लिपमा रहेका रहानेलाई क्याच सुम्पेका थिए। ह्यारिसले आफ्नो तेस्रो पारीमा पहिलो अर्धशतक जोडे।

अस्ट्रेलियाको धर्मराएको मध्यक्रम

फिंच र ह्यारिसले पहिलो विकेटको लागि ११२ रनको साझेदारी गर्दै फिंच आउट भएपछी अस्ट्रेलियाको मध्यक्रम धर्मराएको थियो। दोश्रो विकेटको रुपमा मात्र ५ रन बनाउँदै उस्मान ख्वाजा आउट भएका थिए।

तेस्रो विकेटको रुपमा ह्यारिस आउट भएका थिए भने चौथो विकेटको रुपमा मात्र ७ रन बनाउँदै पिटर ह्यान्ड्सकम आउट भए। ह्यान्ड्सकमले इशान्त शर्माको छोटो बललाई थर्डम्यानको माथिबाट खेल्न खोज्दा दोश्रो स्लिपमा रहेका कोहलीले उत्कृस्ट क्याच लिएका थिए। कुनै समय अस्ट्रेलिया ११२/० को अवस्थाबाट १४८/४ को स्थितिमा पुगेको थियो।

त्यसपछि पाचौं विकेटको लागि शन मार्स र ट्रेविस हेडले ८४ रनको साझेदारी गरे। मार्सले हनुमान विहारीको बलमा रहानेलाई स्लिपमा क्याच थमाउनु अघि ६ चौकासहित ४५ रन बनाएका थिए। लगत्तै ट्रेविस हेडपनि ५८ रन बनाउंदै इशान्त शर्माको बललाई थर्डम्यानमा प्रहार गर्न खोज्दा मोहम्मद शामीलाई थमाउन पुगेपछि स्कोर २५१/६ भएको थियो। त्यसपछि पेन र कमिंसले पारि सम्हालेका छन्।

भारतका लागि भने पहिलो टेस्टमा रोहित शर्मा घाइते भएपछी टिममा स्थान बनाएका पार्टटाइम अफस्पिनर हनुमान विहारीले ह्यारिस र मार्सको विकेट लिन १४ ओभरमा ५३ रन खर्चे। त्यस्तै इशान्त शर्माले पनि ह्यान्ड्सकम र हेडलाई आउट गर्दै १६ ओभरमा ३५ रन खर्चे। जस्प्रित बुम्राह र सम्भवतः रविचन्द्रन आश्विन घाइते भएपछी स्थान बनाएका उमेश यादवले १/१ विकेट लिँदा मोहम्मद शामी र मुरली विजय विकेटबिहिन रहे।

भारतको दोश्रो टेस्ट खेल्ने टिम:

विराट कोहली (c), अजिंक्या रहाने, लोकेश राहुल, मुरली विजय, चेतेश्वर पुजारा, हनुमान विहारी, रिषब पन्त (wk), इशान्त शर्मा, मोहम्मद शामी, जस्प्रित बुम्राह, उमेश यादव

अस्ट्रेलियाको टिम:

एरोन फिंच, मार्कस ह्यारिस, उस्मान ख्वाजा, शन मार्स, पिटर ह्यान्ड्सकम, ट्रविस हेड, टिम पेन (c & wk), प्याट कमिंस, मिचेल स्टार्क, नथन लायन, जोश हेजलवूड

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy