दोश्रो दिन समाप्तीमा भारतको संघर्ष जारि, अस्ट्रेलिया १५४ रनले अगाडी

  • विकेटनेपाल, मङ्सिर २९ – शनिबार

४ टेस्ट खेलको सिरिजको लागि अस्ट्रेलियामा रहेको भारतले दोश्रो टेस्टको दोश्रो दिन समाप्तीमा संघर्ष गरिरहेको छ। उसले आफ्नो पहिलो पारीमा ब्याटिंग गर्दै ३ विकेटको क्षतिमा १७२ रन बनाएको छ।

यसअघि आफ्नो पहिलो पारीमा ब्याटिंग गर्दै अस्ट्रेलियाले ३२६ रन बनाउन सकेको थियो। अहिलेको अवस्थामा भारत अस्ट्रेलियाभन्दा १५४ रनले पछाडी रहेको छ।

भारतको बलिंग कमब्याक

पहिलो दिन अविजित रहेका प्याट कमिन्सलाई १९ रनमा जस्प्रित बुम्राले बोल्ड गर्दै सातौँ विकेट पाएको भारतले त्यसपछि कप्तान टिम पेनलाई पनि बुम्रालेनै एलबिडब्लु गर्दा आठौँ विकेट गुमाएको थियो। पेनले ३८ रन बनाउन ५ चौका प्रहार गरे।

आठौँ विकेट गुमाएपछि मिचेल स्टार्क ( ६ रन ) र हेजलवुड ( ० ) लाई इशान्त शर्माले विकेटकिपर रिशभ पन्तको हातबाट क्याच थमाउदै दशौँ विकेट लिए।

भारतको बलिङ्गमा इशान्त शर्माले ४ विकेट ( २०.३-७-४१-४ ) तथा जस्प्रित बुम्रा ( २६-८-५३-२ ) , हनुमा बिहारी ( १४-१-५३-२ ) र उमेश यादब ( २३-३-७८-२ ) ले समान २/२ विकेट लिए।

यस अघि पहिलो दिन कप्तान टिम पेनले टस जितेर पहिले ब्याटिंग गर्ने क्रममा अस्ट्रेलियाको लागि ओपनर मार्कस ह्यारिसले ७० तथा आरोन फिन्चले ५० रन बनाएका थिए। यस्तै शन मार्शले ४५, ट्राभिस हेडले ५८ रन बनाए।

भारतको खराब सुरुवात

अस्ट्रेलिया अलआउट भएपछि ब्याटिंग थालेको भारतले खराब सुरुवात गर्दै मात्र ८ रनको योगफलमा सुरुवाती २ विकेट गुमाएको थियो।

टिमको स्कोर ६ रन हुँदा १२ बल सामना गरेका मुरली विजय बोल्ड आउट भएका थिए। उनलाई मिचेल स्टार्कले तेस्रो ओभरको अन्तिम बलमा फालेको इन्स्विंगर बल ब्याट र प्याडबीच रहेको खाली ठाउँ चिर्दै १४५ भन्दा माथिको गतिमा स्टम्पमा लागेको थियो।

त्यसपछि ८ रनको योगफलमा लोकेश राहुल पनि १७ बलको सामना गर्दै मात्र २ रन बनाएर आउट भएका थिए। उनलाई जोश हेजलवूडले अफ-स्टम्प योर्करमा बोल्ड गरेका थिए।

संघर्षरत मध्यक्रम

सुरुवाती २ विकेट छिट्टै गुमाएको भारतलाई सम्हाल्न भारतका लागि मध्यक्रममा ब्याट्सम्यानले सक्दो प्रयास गरे।

पहिलो विकेट झरेपछि क्रिजमा आएका चेतेश्वर पुजाराले चौथो नम्बरमा आएका कप्तान कोहलीसँग मिलेर ७४ रनको साझेदारी गर्दै टिमको स्कोर उकास्न मद्दत गरे। २४ रन बनाउन १ चौका प्रहार गरेका पुजाराले १०३ बलको सामना गर्दै कोहलीलाई साझेदारी निर्माण गर्न सहयोग गरे। पुजारा मिचेल स्टार्कको लेगसाइड दिशातर्फको बलमा फाइनलेगमा प्रहार गर्ने चक्करमा ब्याटमा लागेपछि किपरको हातबाट समातिए।

त्यसपछि कप्तान कोहलीले उपकप्तान अजिंक्या रहानेसँग मिलेर चौथो विकेटको लागि अविजित ९० रनको साझेदारी गरेका छन्। जसमा रहानेले ५१ रन बनाउँदै ६ चौका र १ छक्का प्रहार गरे भने कोहली अविजित ८२ रन बनाएर ब्याटिंग गरेका छन्।

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy