आईपीएल २०२० को फाइनल प्रवेशको लागि पहिलो क्वालीफायरमा दिल्ली क्यापिटल्स र मुम्बई इन्डीएन्स प्रतिस्पर्धा गर्दैछन्। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा हुने खेल ७:४५ बजे राति सुरु हुनेछ। मुम्बई लिग अंकतालिकामा पहिलो र दिल्ली दोश्रो स्थानमा रहँदै प्लेअफ खेल्न छनौट भएको थियो।
डिफेन्डिङ च्याम्पियन मुम्बई पाँचौ आईपीएल उपाधि जित्ने बाटोमा रहेको छ भने दिल्ली पहिलो पटक फाइनल र उपाधि जित्दै इतिहास रच्न चाहन्छ। आज जित्ने टिमले सोझै फाइनलको टिकट पाउनेछ। पराजित हुने टिमले इलिमीनेटरमा फाइनल पुग्ने अर्को मौका पाउनेछ। दुवै टिमको उद्देश्य सिधा फाइनल पुग्ने हुनेछ।
खेलमा दिल्ली कप्तान श्रेयस ऐयरले टस जितेर मुम्बईलाई ब्याटिंग गर्ने निम्तो दिएका छन्। मुम्बईसंग यस अघि दुवै खेलमा दिल्लीले पहिले ब्याटिंग गर्दै हार बेहोरेको थियो। ऐयरले विकेट शुक्खा रहेको र सहित रहेको बताउदै ब्याटिंग गर्न विकेट राम्रो हुने विश्वास व्यक्त गरे। दिल्लीले टिममा कुनै पनि परिवर्तन गरेको छैन।
दिल्लीको अन्तिम ११ : पृथ्वी श, शिखर धवन, अजिंक्ये रहाने, श्रेयस ऐयर ( कप्तान ) , रिशभ पन्त ( विकेट किपर ) , मार्कस स्टोइनिस, अक्षर पटेल, रभीचन्द्रन आश्विन, ड्यानियल स्याम्स, कागीसो रबाडा, एनरिक नोर्किया

मुम्बई कप्तान रोहित शर्माले पिच सुस्त हुने बताए। उनले जतिनै लक्ष्य भए पनि आफ्नो टिमको बलिंगमा त्यसलाई रक्षा गर्ने दम भएको बताए। उनले राम्रो सुरुवात गर्नु महत्वपूर्ण भएको बताए। टिममा मुम्बईले पछिल्लो खेलको अन्तिम-११ मा ३ वटा परिवर्तन गरेको छ। जस्प्रित बुम्राह, ट्रेन्ट बोल्ट र हार्दिक पान्ड्या अन्तिम-११ मा रहेका छन्। जेम्स प्याटिन्सन, धवल कुल्कर्नी र सौरभ तिवारीलाई बाहिर राखिएको छ।
मुम्बईको अन्तिम११ : क्विन्टन डीकक ( विकेटकिपर ) , रोहित शर्मा ( कप्तान ) , सुर्यकुमार यादव, इशान किशन, हार्दिक पान्ड्या, काइरन पोलार्ड, क्रुनाल पान्ड्या, नाथन कुल्टर नाइल, राहुल चाहर, ट्रेन्ट बोल्ट, जस्प्रित बुम्राह
मुम्बई प्ले-अफ खेल्न तथा ठुलो खेलको लागि अनुभवी टोलि हो किनकि उसले उपाधिनै ४ पटक जितीसकेको छ। पछिल्लो ५ वटा प्लेअफ खेलमा मुम्बईले ४ वटा खेल जितेको छ। अर्कोतर्फ दिल्ली हालसम्म एउटा मात्र प्लेअफ/सेमीफाइनल खेल जित्न सकेको इतिहास छ। १३ औं सिजन खेल्दै गर्दा दिल्ली हालसम्म फाइनल पुग्न सकेको छैन। गत सिजन दिल्ली इलिमीनेटरबाट बाहिर भएको थियो।
पछिल्लो भेट
लिग चरणमा दुई टिम बीच भएको दुवै खेलमा दिल्ली पराजित भएको थियो। पहिलो खेलमा ५ विकेटले तथा दोश्रो खेलमा ९ विकेटले मुम्बईले दिल्लीलाई निराश बनाएको थियो।
पहिलो प्रतिस्पर्धामा सिखर धवनको ६९ रनको मद्दतमा दिल्लीले दिएको १६३ रनको लक्ष्य मुम्बईले ५ विकेट गुमाएर पुरा गरेको थियो जसको लागि क्विन्टन डीकक र सूर्यकुमार यादवले अर्धशतक बनाएका थिए।
गत साता ट्रेन्ट बोल्ट र जस्प्रित बुम्राहले समान ३ विकेट लिंदा ११० रनमा खुम्चिएको दिल्लीलाई मुम्बईले ९ विकेटले पराजित गरेको थियो जसको लागि इशान किशनले ७२ रन बनाउदै सहज जित दिलाएका थिए। उक्त खेल क्वालीफायर खेलिन लागेको दुबई स्टेडियममा खेलिएको थियो।
यो पनि पढ्नुस :-
https://wicketnepal.com/mi-vs-dc-1st-qualifier-ipl2020/
https://wicketnepal.com/akash-chopda-about-sandeep-1st-qfm-wn20/
