१४ औं संस्करणको इण्डियन प्रिमियर लिग ( आईपीएल ) अन्तर्गत सोमबार जारि चौथौं खेलमा संजु स्याम्सन कप्तानीको राजस्थान रोयल्स र केएल राहुल कप्तानीको पन्जाब किंग्स प्रतिस्पर्धा गरिरेहका छन्।
मुम्बई स्थित वान्खेडे स्टेडियममा जारि खेलमा टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको पन्जाब किंग्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२१ रन बनाउँदै राजस्थान रोयल्सलाई २२२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। पन्जाब किंग्सलाई विशाल लक्ष्यतर्फ उन्मुख पार्न कप्तान राहुल र हुड्डाले विस्फोटक ब्याटिंग गरे।
राजस्थानको सुरुवात खराब रह्यो। १४ रन बनाएका ओपनर मायाँक अग्रवाललाई चेतन सकारियाले आईपीएलमा (डेब्युटन्ट) आफ्नो पहिलो विकेट लिने क्रममा विकेटकिपर सन्जु स्याम्सनबाट क्याच आउट गराए। त्यसपछि अर्का ओपनर केएल राहुलले क्रिस गेलसँग दोस्रो विकेटका लागि ६७ रनको अर्धशतकीय साझेदारी गर्दै पन्जाब किंग्सको इनिन्ग्स सम्हाले। १० औं ओभरमा रियान परागले २८ बलमा ४ चौका र २ छक्काको मद्धतमा ४० रन बनाएका गेललाई स्टोक्सबाट लंग अनमा क्याच आउट गराउँदै साझेदारी तोडे।
त्यसपछि राहुलले दिपक हुड्डासँग तेस्रो विकेटका लागि १०५ रनको विस्फोटक शतकीय साझेदारी गरे। हुड्डालाई १८ औं ओभरमा क्रिस मोरिसले रियान परागबाट क्याच आउट गराए। त्यसअघि उनले २८ बलमा ४ चौका र ६ छक्काको मद्धतमा ६४ रन बनाए। हुड्डाले शिवम दुबेले गरेको १३ औं ओभरमा २ छक्का तथा श्रेयस गोपालको १४ औं ओभरमा ३ छक्का प्रहार गरेका थिए। सोहि ओभरमा मोरिसले निकोलास पुरनलाई खाता नखोली सकारियाबाट क्याच आउट गराए।
शतकबाट ९ रन टाँढा रहेका कप्तान राहुललाई सकारियाले अन्तिम ओभरमा राहुल तेवाटियाबाट क्याच आउट गराए। राहुलले ५० बलमा ७ चौका र ५ छक्काको मद्धतमा सर्वाधिक ९१ रन बनाए। यससंगै राहुलले पन्जाबको प्रतिनिधित्व गर्दै २००० रन पनि पुरा गरेका छन्। इनिन्ग्सको अन्तिम बलमा सकारियाले झे रिचर्डसनलाई आउट पार्दै तेस्रो विकेट लिए।
राजस्थान रोयल्सको बलिंगमा चेतन सकारियाले (४-०-३१-३) सर्वाधिक ३ तथा क्रिस मोरिसले (४-०-४१-२) २ विकेट लिए। यस्तै रियान परागले एक विकेट हात पारे।
खेलमा पन्जाब किंग्सबाट तीव्र गतिका अष्ट्रेलियन बलर राइली मेरिडिथ, झेय रिचर्डसन र भारतीय युवा ब्याट्सम्यान शाहरुख खानले डेब्यू गरेका छन्। यस्तै राजस्थान रोयल्सले बंगलादेशी देब्रे हाते फास्ट बलर मुस्ताफिजुर रहमान, भारतीय अलराउन्डर शिवम दुबे, मध्य गतिका देब्रे हाते बलर चेतन सकारिया र ब्याट्सम्यान मनन बोहरालाई डेब्यू गराएको छ।