आईपीएल अक्सनमा १५ नेपाली खेलाडी, बिक्लान सन्दिप ?

२०७८ माघ ८, शनिबार १२:१९

इन्डियन प्रिमियर लिग ( आईपीएल ) को अक्सन फेब्रुअरी १२ र १३ तारिखमा भारतको बैंगलोरमा हुँदैछ। उक्त अक्सनमा नेपालबाट १५ जना खेलाडीले नाम दर्ता गराएका छन्।

आईपीएलले शनिवार बिज्ञप्ति जारि गर्दै यो सिजन अक्सनको लागि विश्वभरबाट १ हजार २ सय १४ जना खेलाडीले नाम दर्ता गराएको घोषणा गरेको छ। त्यस मध्ये एसोसिएट राष्ट्र बाट कुल ४१ खेलाडीले नाम दर्ता गराएका छन्।

भारत बाहेक देशका कुल ३१८ जना खेलाडीले अक्सनमा नाम दर्ता गराएका छन्। ओमानबाट ३ जना, अमेरिकाबाट १४ जना, स्कटल्याण्डबाट १ जना, नेदरल्याण्डबाट १ जना, नामिबियाबाट ५ जना तथा भुटानबाट १ जना खेलाडीले नाम दर्ता गराएका छन्। टेस्ट राष्ट्र जिम्बाब्वेबाट मात्र २ जना तथा आयरल्याण्डबाट मात्र ३ जना खेलाडीले नाम दर्ता गराएका छन्। अफगानिस्तानबाट २० जना, अस्ट्रेलियाबाट ५९ जना, बंगलादेशबाट ९ जना, इंग्ल्यान्डबाट ३० जना, न्युजिल्यान्डबाट २९ जना, दक्षिण अफ्रीकाबाट ४८ जना, श्रीलंकाबाट ३६ जना, वेस्टइन्डिजबाट ४१ जना खेलाडीले नाम दर्ता गराएका हुन्।

नेपालबाट अक्सनमा सहभागी हुने खेलाडीहरुको नाम सार्वजनिक भने गरिएको छैन। तर सन्दिप लामिछाने सहित राष्ट्रिय टिमका अधिकांश खेलाडीहरुले दर्ता गराएको सहजै अनुमान गर्न सकिन्छ। नेपाली खेलाडीहरुले पछिल्लो समय विश्वका बिभिन्न लिगहरुमा नाम दर्ता गराएता पनि छनोट भने हुने गरेका छैनन्।

आईपीएलमा बिक्रि होलान् सन्दिप ?

नेपाली राष्ट्रिय टिमका कप्तान सन्दिप लामिछाने गत सिजन आईपीएल मिनी अक्सनमा बिक्रि भएका थिएनन्। दिल्ली क्यापिटल्सले रिलिज गरेपछि भएको मिनी अक्सनमा सन्दिपले आफ्नो बेस प्राइस ४० लाख भारु राखेका थिए। यो पटक सन्दिपले कति बेस प्राइस राखेका छन् खुलेको छैन। उनले बेस प्राइस १ करोड भारु भन्दा कम राखेको भने अनुमान गर्न सकिन्छ। भारतीय मिडियाहरुले सार्वजनिक गरेको १ करोड र डेढ करोड भारुमा नाम दर्ता गराएका खेलाडीको सुचीमा सन्दिपको नाम छैन।

२०१८ मा २० लाख भारुमा बिक्रि भएपछि तिन सिजन दिल्लीमा रहेका उनले कुल ९ खेल खेल्दा १३ विकेट आफ्नो नाम गरेका थिए। २०२० को सिजन बेन्चमै राखेपछि अर्को सिजन दिल्लीले उनलाई रिलीज गरेको थियो।

यो सिजन बिग ब्यास लिगमा सुरुवात राम्रो नरहेता पनि दोश्रो भागमा उत्कृस्ट प्रदर्शन गरेका सन्दिप यो पटक आईपीएलमा बिक्ने नबिक्ने सबैको कौतुहलता छ। बिग ब्यास लिगमा उनले १४ खेलमा १४ विकेट लिंदै राम्रो छाप छाडेका छन्। उनले लिगको सुरुवाती ६ खेलमा मात्र २ विकेट लिन सकेका थिए। तर त्यसपछि उत्कृस्ट पुनरागमन गरेका उनले बाँकी ८ खेलमा १२ विकेट हात पारे। कुल १४ खेल खेल्दा सन्दीपले १४ विकेटनै लिए। यस क्रममा उनले ७.७९ रन प्रतिओभर खर्चिए। प्रतियोगितामा धेरै विकेट लिने स्पिनरको सुचीमा उनि राशिद खान ( २० विकेट ) र एस्टन एगर ( १५ विकेट ) पछि तेश्रो स्थानमा रहे।

बिग ब्यासको प्रदर्शन पछि सन्दिपलाई लिन टिमहरुले इच्छा देखाउन सक्नेछन्। विश्वभर लिग खेलेको अनुभव पनि सन्दिपलाई लिने कारण बन्न सक्छ। आईपीएलमा दुई वटा नयाँ टिम अहमदावाद र लखनउ थपिएसंगै सन्दिपको आईपीएलमा छनोट हुने सम्भावना बढेको छ। तर उनि बिक्रि हुनेछन् या छैनन् थाहा पाउन भने फेब्रुअरी १२ तारिख कुर्नेपर्नेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy