पोलार्डले अब आईपीएल नखेल्ने, यस कारण लिए सन्यास

२०७९ कार्तिक २९, मंगलवार १५:१७

मुम्बई इन्डीयन्सले मिनी अक्सन अगाडी रिटेन नगरेपछि काईरन पोलार्डले आईपीएलबाट सन्यास लिने निर्णय गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफैले फ्यान समक्ष यसको घोषणा गरेका छन्।

पोलार्डले आफ्नो रिटायरमेन्ट घोषणा गर्दै मुम्बई इन्डीयन्सको लागि लामो म्यासेज समेत लेखेका छन्। उनले मुम्बईको विरुद्ध खेल्ने बारे सोच्न पनि नसक्ने भन्दै रिटायरमेन्ट लिएको बताएका छन्।

“यो मेरो लागि सजिलो निर्णय थिएन किनकि म केहि वर्ष अझै खेलीरहनेछु। तर म बुझ्छु कि फ़्रेन्चाइजलाई परिवर्तनको खाँचो छ। म मुम्बईको लागि खेल्दिन भने म मुम्बई विरुद्ध पनि खेल्न सक्दिन।”

“एक पटक मुम्बई इन्डीयन्स, सधै मुम्बई इन्डीयन्स” उनले लेखेका छन्।


मुम्बई इन्डीयन्सको लागि कैयौं खेल जिताएका पोलार्डले टिममा नयाँ जिम्मेवारी पाएका छन्। उनलाई मुम्बईले ब्याटिंग प्रशिक्षकको भूमिका दिएको छ।

१३ वर्ष मुम्बईमा रहेका पोलार्डले टिमले पाँच पटक उपाधि जित्दा महत्वपूर्ण सदस्य रहे।

मुम्बईले अलराउण्डर पोलार्डलाई सन् २०१० मा किनेको थियो जुन बेला देखि उनले अन्य आईपीएल फ़्रेन्चाइजको लागि खेलेका छैनन्। पछिल्लो सिजन मुम्बईले हार्दिक पान्ड्या र क्रुनाल पान्ड्यालाई रिटेन नगरी पोलार्डलाई रिटेन गरेको थियो।

आईपीएलमा पोलार्डले कुल १८९ म्याच खेल्ने क्रममा ३४१२ रन बनाएका छन् जुन क्रममा उनले २२३ छक्का र २१८ चौका प्रहार गरेका छन्। १४७.३२ को स्ट्राइक रेटमा १६ वटा अर्धशतक प्रहार गरेका उनको सर्वाधिक स्कोर ८७ रन हो। उनले बलिंगबाट पनि ६९ विकेट लिएका छन्।

गत सिजन आईपीएलमा पोलार्डले ११ खेलमा मात्र १४४ रन बनाएका थिए जुन क्रममा उनको स्ट्राइक रेट १०७.४६ मात्र थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy