१ रनले दिल्ली क्यापिटल्सलाई पराजित गर्दै १४ औं आईपीएलमा बैंगलोरले पाँचौ जित दर्ता गरेको छ।
अहमदावाद स्थित नरेन्द्र मोदी स्टेडियममा सम्पन्न खेलमा बैंगलोरले दिएको १७२ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १७० रन बनाउन सक्यो।
लक्ष्य पछ्याउने क्रममा दिल्लीले नियमित अन्तरलमा विकेट गुमाउन पुग्यो। ६ रन ओपनर शिखर धवनलाई कायल जेमिसनले तेश्रो ओभरमा पेभेलियन फर्काए। लगत्तै ओभरमा ४ रन बनाएर स्टिभ स्मिथ मोहम्मद सिराजबाट क्याच आउट भए। २१ रन बनाएका ओपनर पृथ्वी श आठौँ ओभरमा हर्ष पटेलबाट क्याच आउट भए।
४७/३ को अवस्थाबाट कप्तान रिशभ पन्तले मार्कस स्टोइनिससंग ४५ रनको साझेदारी गरे। २२ रन बनाएका स्टोइनिसलाई १३ औं ओभरमा पटेलले दोश्रो शिकार बनाए।
चौथो विकेटको लागि कप्तान पन्त र शिमरन हेटमायरले अर्धशतकीय साझेदारी गर्दै टिमलाई जितको दिशा दिए। अन्तिम ३ ओभरमा जित्न ४६ रन आवस्यक रहंदा हेटमायरले कायल जेमीसनको ओभरमा ३ छक्का प्रहार गरे जुन ओभरमा दिल्लीले २१ रन बटुल्यो। १९ औं ओभरमा हर्षल पटेलले ११ रन खर्चिए जसपछि अन्तिम ओभरमा जितको लागि १४ रन आवस्यक रह्यो।
अन्तिम ओभरमा बलिंग गर्न आएका मोहम्मद सिराजले उत्कृस्ट सुरुवात गरे। पहिलो र दोश्रो बलमा पन्त र हेटमायरले १/१ रन मात्र लिन सके भने तेश्रो बलमा पन्तले रन बनाउन सकेनन्। चौथो बलमा पन्तले २ रन लिए। अन्तिम २ बलमा १० रन आवस्यक हुँदा पन्तले चौका प्रहार गरे जसपछि अन्तिम बलमा जित्न ६ रन आवस्यक रह्यो। अन्तिम बलमा पन्तले चौका प्रहार गरेपछि दिल्ली १ रनले पराजित हुन पुग्यो।
रिशभ पन्तले अविजित ५८ रन बनाए जुन क्रममा ४८ बलमा ६ चौका प्रहार गरे। शिमरन हेटमायरले अविजित ५३ रन बनाए जुन क्रममा २५ बलमा २ चौका र ४ छक्का प्रहार गरे।
बैंगलोरको बलिंगमा हर्षल पटेलले सर्वाधिक २ विकेट ( ४-०-३७-२ ) लिए। कायल जेमीसन ( ४-०-३२-१ ) र मोहम्मद सिराज ( ४-०-४४-१ ) ले समान १ विकेट लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको बैंगलोरले निर्धारित २० ओभरमा ५ विकेट क्षेतीमा १७१ रन बनाएको थियो।
बैंगलोर ओपनर बिराट कोहली र देभदत्त पडीक्कलले ३० रनको ओपनिंग साझेदारी गरे। चौथो ओभरमा कोहली १२ रन बनाएर आभेस खानबाट बोल्ड भए। लगत्तै ओभरमा १७ रन बनाएका पडीक्कल इशान्त शर्माबाट बोल्ड भए।
तेश्रो विकेटको लागि रजत पटिदार र ग्लेन म्याक्सवेलले ३० रन जोडे। २५ रन बनाएका म्याक्सवेललाई नवौं ओभरमा अमित मिश्राले क्याच आउट गराए। त्यसपछि पटिदारले एबि डीभिल्लीयर्ससंग ५४ रनको साझेदारी गरे। अक्षर पटेलले ३१ रन बनाएका पटिदारलाई १५ औं ओभरमा क्याच आउट गराए। १८ औं ओभरमा वासिंगटन सुन्दर ६ रन बनाएर कागीसो रबाडाले आफैद्वारा क्याच आउट गराए।
त्यसपछि डीभिल्लीयर्सले एक किनार सम्हाल्दै अर्धशतक पुरा गर्दै योगफल १५० पार गराए। इनिंग्सको अन्तिम ओभरमा मार्कस स्टोइनिसको ओभरमा डी भिल्लीयर्सले ३ छक्का प्रहार गर जुन ओभरमा २३ रन आयो। अन्तिम ५ ओभरमा बैंगलोरले मात्र १ विकेट गुमाएर ५६ रन बनाउन सक्यो।
डी भिल्लीयर्सले अविजित ७५ रन बनाए जुन क्रममा ४२ बलमा ३ चौका र ५ छक्का प्रहार गरे।
डी भिल्लीयर्सले आईपीएलमा १६१ औं इनिंग्स खेल्दा व्यक्तिगत ५ हजार रन समेत पुरा गरे। उनि डेभिड वार्नर पछि ५ हजार रन पुरा गर्ने दोश्रो भारत बाहिरका खेलाडी हुन्। लिगमा यस अघि बिराट कोहली, सुरेश रैना, शिखर धवन, रोहित शर्मा र डेभिड वार्नरले मात्र ५ हजार रन पार गर्न सकेका छन्।
दिल्लीको बलिंगमा इशान्त शर्मा ( ४-१-२६-१ ) , कागीसो रबाडा ( ४-०-३८-१ ) , आभेस खान ( ४-०-२४-१ ), अमित मिश्रा ( ३-०-२७-१ ) र अक्षर पटेलले समान १ विकेट लिए।
अंकतालिका र आगामी खेल
जितपछि लिग अंकतालिकामा बैंगलोर ६ खेलमा ५ जित र १ हार बेहोर्दै १० अंक सहित पहिलो स्थानमा उक्लेको छ। ६ खेलमा ४ जित र २ हार पछि ८ अंक बटुलेको दिल्ली तेश्रो स्थानमा छ। समान अंक रहेको चेन्नाई दोश्रो स्थानमा छ।
लिग अन्तर्गत दिल्लीले आगामी खेल अप्रिल २९ तारिख बिहिबार कोलकाता बिरुद्ध तथा बैंगलोरले अप्र्ल ३० तारिख शुक्रबार पन्जाब किंग्स बिरुद्ध खेल्नेछ।
यो पनि पढ्नुस
https://wicketnepal.com/sandeep-feri-ipl-khelna-chahanchu-wn21/
https://wicketnepal.com/punjab-batting-approach-wn21/
https://wicketnepal.com/super-over-ma-bairstow-rojai-ma-wn21/