सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गर्दै पुनः चेन्नाई सुपर किंग्स आईपीएल अंकतालिकाको शिर्षस्थानमा प्रवेश गरेको छ।
दिल्ली स्थित अरुण जेटलि स्टेडियममा सम्पन्न खेलमा हैदरावादले दिएको १७२ रनको लक्ष्य चेन्नाईले ३ विकेट क्षेतीमा पुरा गर्यो।
लक्ष्य पछ्याउने क्रममा चेन्नाई ओपनर रुतुराज गायकवाड र फाफ डु प्लेसीले १३ ओभरमा १२९ रनको साझेदारी गर्दै जितको आधार तयार गरे। प्लेयर अफ द म्याच चुनिएका गायकवाडले ४४ बलमा १२ चौका मद्दतले ७५ रन बनाए भने फाफ डु प्लेसीले ३८ बलमा ६ चौका र १ छक्का मद्दतले ५६ रन बनाए। सुरेश रैनाले अविजित १७ रन, मोइन अलिले १५ रन तथा रभीन्द्र जडेजाले अविजित ७ रन बनाए।
हैदरावादको बलिंगमा राशिद खान एक्लैले ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ३६ रन खर्चिए।

यस अघि टस जितेर ब्याटिंग गरेको हैदरावादले निर्धारित २० ओभरमा ३ विकेट क्षेतीमा १७१ रन बनाएको थियो।
हैदरावादको लागि मनिष पाण्डेले सर्वाधिक ६१ रन तथा डेभिड वार्नरले ५७ रन बनाए। पाण्डेले ४६ बलमा ५ चौका र १ छक्का तथा वार्नरले ५५ बलमा ३ चौका र २ छक्का प्रहार गरे। ओपनर जोनी बेयरस्टो ७ रन बनाएर आउट भएपछि दोश्रो विकेटको लागि वार्नर र पाण्डेले १०६ रनको साझेदारी गरेका थिए।
वार्नर र पाण्डेको विकेट पछि चौथो विकेटको लागि केन विलियमसन र केदार जाधबले १३ बलमा ३७ रनको साझेदारी गरेका थिए। विलियमसनले १० बलमा ४ चौका र १ छक्का मद्दतले अविजित २६ रन तथा जाधबले ४ बलमा १ चौका र १ छक्का मद्दतले अविजित १२ रन बनाए।
चेन्नाईको बलिंगमा लुंगी एनगीडीले २ विकेट ( ४-०-३५-२ ) र स्याम करन ( ४-०-३०-१ ) ले १ विकेट लिए।
वार्नरको २ ठुलो कीर्तिमान : आईपीएल इतिहासमा ५० वटा अर्धशतक बनाउने डेभिड वार्नर पहिलो ब्याट्सम्यान बनेका छन्। चेन्नाई बिरुद्ध १४८ औं खेल खेल्ने क्रममा वार्नरले उक्त किर्तिमान बनाएका हुन्। वार्नरको नाममा आईपीएलमा ४ शतक र ५० अर्धशतक रहेको छ। वार्नर पछि धेरै अर्धशतक बनाउने खेलाडी शिखर धवन हुन् जसले १८२ खेलमा ४३ अर्धशतक बनाएका छन्। बिराट कोहली, रोहित शर्मा र एबि डी भिल्लीयर्सले समान ४० वटा, सुरेश रैनाले ३९ वटा तथा गौतम गम्भीरले ३६ वटा अर्धशतक बनाएका छन्।
यस्तै वार्नरले टि-२० क्रिकेटमा व्यक्तिगत १० हजार रन समेत पुरा गरे। यस्तो गर्ने वार्नर पहिलो अस्ट्रेलियन खेलाडी हुन् भने विश्वकै मात्र चौथो खेलाडी हुन्। वार्नरले ३०४ वटा टि-२० खेल्ने क्रममा ३०३ इनिंग्समा ब्याटिंग गर्दै १० हजार १७ रन बनाएका छन् जुन क्रममा उनले ८ वटा शतक र ८२ वटा अर्धशतक बनाएका छन्। टि-२० क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यान क्रिस गेल हुन् जसले १३ हजार ८ सय ३९ रन बनाएका छन्। दोश्रो धेरै काइरन पोलार्डले १० हजार ६ सय ९४ रन तथा तेश्रो धेरै शोयब मलिकले १० हजार ४ सय ८८ रन बनाएका छन्।
अंकतालिका : ६ खेलमा १ जित र ५ हार पछि हैदरावाद २ अंक सहित अंकतालिकाको आठौँ स्थानमा यथावत रहेको छ। जित पछि चेन्नाई भने १० अंक सहित लिगको शिर्ष स्थानमा पुगेको छ जसले ६ खेलमा ५ जित र १ हार बेहोरेको छ। समान अंक रहेता पनि बैंगलोर नेट रन रेटमा पछि रहँदै दोश्रो स्थानमा रहेको छ।

लिग अन्तर्गत हैदरावादले आगामी खेल राजस्थान रोअल्स बिरुद्ध मे २ तारिख आइतबार खेल्नेछ। यस्तै चेन्नाईले आगमी खेल मे १ तारिख शनिवार मुम्बई इन्डीयन्स बिरुद्ध खेल्नेछ।
यो पनि पढ्नुस
https://wicketnepal.com/sehwag-nehra-pant-captaincy-wn21/
https://wicketnepal.com/sandeep-feri-ipl-khelna-chahanchu-wn21/
https://wicketnepal.com/punjab-batting-approach-wn21/
