राशिदको सिजनकै सबैभन्दा किफायती बलिंग, हैदरावादसंग दिल्ली विशाल अन्तरले पराजित

युएईमा जारि आईपीएल २०२० अन्तर्गत ४७ औं खेलमा दिल्ली क्यापिटल्सलाई ८८ रनको विशाल अन्तरले पराजित गर्दै सनराइजर्स हैदरावादले प्लेअफ पुग्ने सम्भावना कायमै राखेको छ। दिल्लीको लिगमा यो लगातार तेश्रो हार हो। यस अघि पन्जाबसंग ५ विकेटले तथा कोलकातासंग ५९ रनले टिम पराजित भएको थियो।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा हैदरावादले दिएको २२० रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले १९ ओभरमा सबै विकेट गुमाएर १३१ रन मात्र बनाउन सक्यो।

लिग इतिहासमा यो १४ औं ठुलो रन अन्तरको जित हो। यस्तै हैदरावादको आईपीएल इतिहासमा यो दोश्रो ठुलो जित हो। गत सिजन हैदरावादले बैंगलोरलाई ११८ रनले पराजित गरेको थियो जुन टिमको सबैभन्दा ठुलो रन अन्तरको जित हो।

लक्ष्य पछ्याउने क्रममा दिल्लीको लागि रिशभ पन्तले सर्वाधिक ३६, अजिंके रहानेले २६, तुषार देशपाण्डेले अविजित २०, शिमरन हेटमायरले १६ रन बनाए। शिखर धवन ० , मार्कस स्टोइनिस ५ , श्रेयस ऐयर ७ तथा अक्षर पटेल १ रन बनाएर आउट भए।

पहिलो ओभरमा खाता नखोल्दै शिखर धवन आउट भएपछि सुरु भएको विकेट पतनले निरन्तरता पाउदा दोश्रो इनिंगमा हैदरावाद पूर्णत हावी रह्यो।

राशिदको सिजनकै किफायती स्पेल 

हैदरावादको बलिंगमा लेग स्पिनर राशिद खानले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा मात्र ७ रन खर्चिए। यस क्रममा उनले रहाने, हेटमायर र अक्षर पटेलको विकेट लिए। सातौँ ओभरमा बलिंग सुरु गर्ने क्रममा राशिदले पहिलो ओभरमा १ रन खर्चेर २ विकेट लिएका थिए। त्यसपछि स्पेल निरन्तर दिने क्रममा दोश्रो ओभरमा २ रन, तेश्रो ओभरमा ३ रन तथा चौथो ओभरमा १ रन खर्चेर १ विकेट लिएका थिए।

आईपीएलमा राशिदको यो उत्कृस्ट स्पेल हो। आईपीएल इतिहासमै ४ ओभर बलिंग गर्दा कुनै पनि बलर को यो छैठौं सबैभन्दा किफायती बलिंग स्पेल हो। दिल्ली बिरुद्ध राशिदले सिजनकै अघिल्लो खेलमा पनि ४ ओभरमा मात्र १३ रन खर्चेर ३ विकेट लिएका थिए।

हैदरावादको अन्य बलरमा टि नटराजन ( ४-०-२६-२ ) र सन्दिप शर्माले २ विकेट ( ४-०-२७-२ ) लिंदा शाहबाज नदीम ( १-०-८-१ ) , जेसन होल्डर ( ४-०-४६-१ ) र विजय शंकर ( १.५-०-११-१ ) ले समान १ विकेट लिए।

राशिद खानले सिजनकै किफायती बलिंग गर्दै ३ विकेट लिए

हैदरावादको ब्याटिंग 

यस अघि टस हारेर ब्याटिंग गरेको हैदरावादले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २१९ रन बनाएको थियो।

हैदरावादको लागि सिजनमा दोश्रो खेलमा मौका पाएका रिद्दिमान साहाले सर्वाधिक ८७ रन बनाए जुन क्रममा ४५ बलमा १२ चौका र २ छक्का प्रहार गरे। शाहको १२१ औं आईपीएल खेलमा यो छैठौं अर्धशतक हो। कप्तान डेभिड वार्नरले ४६ औं अर्धशतक बनाउने क्रममा ३४ बलमा ८ चौका र २ छक्का मद्दतले ६६ रन बनाए। मनिष पाण्डेले अविजित ४४ रन बनाउने क्रममा ३१ बलमा ४ चौका र १ छक्का प्रहार गरे। केन विलियमसनले अविजित ११ रन बनाए।

रिद्दीमान साहाले सर्वाधिक ८७ रन बनाए

उत्कृस्ट सुरुवात गर्ने क्रममा वार्नर र साहाले १०७ रनको ओपनिंग साझेदारी गरेका थिए। दशौँ ओभरमा वार्नरलाई रभीचन्द्रन आश्विनले क्याच आउट गराएपछि साहाले दोश्रो विकेटको लागि मनिष पाण्डेसंग ७० रनको साझेदारी गरे। १५ औं ओभरमा साहालाई नोर्कियाले श्रेयस ऐयरबाट क्याच आउट गराएर साझेदारी तोडे।

साहाको विकेटपछि मनिष पाण्डेले केन विलियमसनसंग तेश्रो विकेटको लागि ३३ बलमा ४९ रनको साझेदारी गरे। अन्तिम ५ ओभरमा हैदरावादले विकेट नगुमाई ४४ रन बनायो।

इनिंगमा पहिलो ६ ओभरमा हैदरावादले ७७ रन बनाउन सक्यो जुन यो सिजनकै पहिलो ६ ओभरमा पावरप्लेमा बनेको सर्वाधिक रन हो।

दिल्लीको बलिंगमा एनरिक नोर्किया ( ४-०-३७-१ ) र रभीचन्द्रन आश्विन ( ३-०-३५-१ ) ले समान १ विकेट लिए। अक्षर पटेल ( ४-०-३६-० ), कागीसो रबाडा (४-०-५४-० ) , तुषार देशपाण्डे ( ३-०-३५-० ) विकेटविहिन रहे।

यस अघि लगातार २५ खेलमा कम्तिमा १ विकेट लिएका रबाडा २६ औं खेलमा पहिलो पटक विकेटविहिन रहे।

अंकतालिका, प्लेअफ सम्भावना र आगामी खेल 

जितपछि ११ खेमा ५ जित र ७ हार पछि १० अंक बटुल्दै हैदरावाद छैठौं स्थानमा उक्लेको छ। राजस्थान समान अंक रहेता पनि नेट रन रेटमा पछि पर्दै सातौँ स्थानमा झरेको छ। हैदरावादले प्ले-अफ सम्भावना कायमै राखेको छ। अब बाँकी दुवै खेल जितेको खण्डमा हैदरावादको सम्भावना रहन्छ तर त्यसको लागि अन्य टिमको नतिजामा पनि भर पर्नुपर्नेछ।

हारपछि दिल्ली ११ खेलमा ७ जित र ५ हार पछि तेश्रो स्थानमा पुगेको छ। समान १४ अंक रहेको मुम्बई र बैंगलोर नेट रन रेटमा अघि रहँदै पहिलो र दोश्रो स्थानमा रहेका छन्। बाँकी २ खेलमा दिल्लीले १ जित हात पारे पनि प्लेअफ पक्का गर्नेछ। दुवै खेल हारेको खण्डमा पनि अन्य टिमको नतिजाको आधारमा दिल्लीको भाग्य निर्धारण हुनेछ।

लिग अन्तर्गत हैदरावादले आगामी खेल दिल्ली बिरुद्ध शनिवार तथा सोहि दिन हैदरावादले बैंगलोरसंग प्रतिस्पर्धा गर्नेछ। बुधबार मुम्बईले बैंगलोरको सामना गर्नेछ जुन खेलमा विजयी टिम प्लेअफ पुग्ने पहिलो टिम हुनेछ।

IPL : पन्जाब प्ले-अफको कति नजिक ? कुन टिमको प्ले-अफ समीकरण के छ

चेन्नाई सीईओको ठूलो घोषणा : धोनीलेनै आईपीएल २०२१ मा चेन्नाईको नेतृत्व गर्ने

“कोहि पनि हार्न चाहदैन तर सबै विजेता हुँदैनन्”  चेन्नाईलाई समर्पित गर्दै धोनी पत्नी साक्षीको कविता





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]