भारतीय क्रिकेट बोर्ड ( बिसीसीआई ) ले डिसेम्बर २४ तारिखमा वार्षिक साधारण सभा गर्दैछ। आईपीएलको आगामी सिजनमा दुईवटा नयाँ टिम थप्ने प्रस्ताव साधारणसभामा चर्चा हुने तय भैसकेको छ।
भारतीय मिडियाहरुका अनुसार आईपीएलको नयाँ टिमको रुपमा अहमदावाद नयाँ टिम हुने निश्चित जसो रहेको छ। यस्तै लखनउ, कानपुर, पुने जस्ता टिमहरुको बारेमा पनि बोर्डको साधारण सभाले २०२१/२२ को सिजनमा १ भन्दा बढी टिम थप्ने निर्णय गरेको खण्डमा छलफल हुनेछ।
रिपोर्टका अनुसार गौतम अदानीको स्वामित्व रहेको अदानी ग्रुप र सन्जिब गोएन्का स्वामित्वको आरपीएसजी रहेको आरपीएसजी आईपीएलको नवौं टिमको सबैभन्दा ठुलो दावेदार रहेका छन्। अहमदावादमा भारतकै सबैभन्दा ठुलो क्रिकेट स्टेडियम बन्दै गरेको हुँदाले उनीहरुको रुची अझ बढेको छ। अर्कोतर्फ यस अघि २ वर्ष राईजिंग पुने सुपर जायन्टस टिमको मालिक रहीसकेका गोएन्का पुनः लिगमा जोडिन आतुर छ।

अदानी र गोएन्का बाहेक दक्षिण भारतका चर्चित कलाकार मोहनलाल सहित दक्षिण भरतका ठुला बिजनेस हाउसले पनि टिम लिन चासो देखाएको छ। मोहनलाल आईपीएल २०२० को दौरान बिसीसीआईका अधिकारीहरुसंग पनि देखिएका थिए।
बिसीसीआईले नयाँ टिमको लागि टेण्डर आह्वान गर्ने बारे अधिकारिक घोषणा गरिसकेको छैन। बिसीसीआई आफ्नो योजना अनुसार अघि बढेको खण्डमा आईपीएल २०२१ अगाडी मेगा-अक्सन समेत आयोजना हुनेछ। श्रोतका अनुसार बिसीसीआईले टिमहरुलाई साधारणसभा पछि अक्सन आयोजना हुने बताईसकेको छ।
आईपीएल २०२१ मा अक्सन हुँदा चेन्नाई सुपर किंग्स जस्तो टिमको लागि राहतको खबर हुनेछ जो नयाँ टिम निर्माण गर्न चाहन्छ। महेन्द्र सिंह धोनीले पनि आईपीएल २०२० को अन्त्यमा नयाँ टिम निर्माण गर्ने स्पस्ट बताइसकेका छन्। चेन्नाई बाहक राजस्थान, पन्जाब, हैदरावाद, बैंगलोर जस्ता टिमहरुले पनि अर्को सिजनको लागि ठुलो अक्सन गर्न माग गरेका छन्। तर यो बारे अन्य टिमहरुले भने एकमत देखाएका छैनन्।
आईपीएल २०२१ को आयोजना मार्चको अन्तिममा सुरु हुने बताईएको छ।