सिराजले कीर्तिमानी बलिंग गर्दा, कोलकातालाई सहजै हराउदै बैंगलोर दोश्रो स्थानमा उक्लियो

२०७७ कार्तिक ५, बुधबार २२:४६

कोलकाता नाइट राइडर्सलाई ८ विकेटले सहजै पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरले आईपीएल २०२० अन्तर्गत सातौँ जित दर्ता गरेको छ। युएईको अबुधाबी स्थित शेख जायद स्टेडियममा सम्पन्न खेलमा कोलकाताले दिएको ८५ रनको लक्ष्य बैंगलोरले २ विकेट गुमाएर १३.३ ओभरमै पुरा गर्यो।

बैंगलोरको लागि ओपनर देभदत्त पडीक्कले सर्वाधिक २५, गुरकिरात सिंहले अविजित २१ , बिराट कोहलीले अविजित १८ तथा आरोन फिन्चले १६ रन बनाए।

ओपनर आरोन फिन्च र देभदत्त पडीक्कलले पहिलो विकेटको लागि ४६ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए। सातौँ ओभरमा फिन्च र पडीक्कल आउट भएका थिए। लकी फर्गुसनले फिन्चलाई क्याच आउट गराउदा पडीक्कल भने कमिन्सबाट रन आउट भएका थिए। तेश्रो विकेटको लागि कप्तान कोहली र गुरकिरत सिंहले अविजित ३९ रनको साझेदारी गर्दा टिमलाई जितसम्म पुर्याए।

कोलकाताको बलिंगमा लकी फर्गुसनले १ विकेट लिए जुन क्रममा ३ ओभरमा १२ रन खर्चिए।

कोलकाताको लज्जास्पद कीर्तिमान

यस अघि टस जितेर ब्याटिंग गरेको कोलकाताले २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट गुमाएर ८४ रन मात्र बनाउन सकेको थियो। आईपीएल इतिहासमै कुनै पनि टिमले पुरा २० ओभर ब्याटिंग गर्दा बनाएको यो सबैभन्दा कम योगफल हो। यस अघि यो रेकर्ड पन्जाबको नाममा थियो जसले २००९ मा चेन्नाई बिरुद्ध २० ओभरमा ८ विकेट गुमाएर ९२ रन बनाएको थियो। ११ वर्षपछि पन्जाबको कीर्तिमान टुटेको हो। बैंगलोर बिरुद्ध कुनै पनि टिमले बनाएको यो तेश्रो कम योगफल हो। यस अघि राजस्थानले २००९ मा ५८ तथा डेक्कन चार्जर्सले २०१० मा ८२ रन बनाउन सकेको थियो।

कोलकाताको लागि कप्तान ओएन मोर्गनले ३४ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ३० रन बनाए। लकी फर्गुसनले अविजित १६ बलमा १९ रन, कुलदिप यादबले १२ रन तथा टम बान्टनले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। ओपनर शुब्मन गिल र राहुल त्रिपाठी समान १ रन बनाएर आउट भए भने नितिश रानाले खाता खोल्न सकेनन्। दिनेश कार्तिक र प्याट कमिन्सले समान ४ रन बनाए।

४० रनमै ६ विकेट गुमीसकेको अवस्थामा मोर्गन र कमिन्सले सातौँ विकेटको लागि १७ रनको तथा त्यसपछि कुलदिप यादब र लकी फर्गुसनले आठौँ विकेटको लागि २७ रनको साझेदारी गरेका थिए।

एकै इनिंगमा २ ओभर मेडन गर्ने सिराज पहिलो बलर बने

मोहम्मद सिराजले आफ्नो स्पेलको पहिलो २ ओभरनै मेडन राख्दै ३ विकेट लिएपछि कोलकाताको इनिंग उठ्न सकेन। दायाँ हाते पेसर सिराजले ४ ओभरमा मात्र ८ रन खर्चेर ३ विकेट लिए जुन क्रममा २ ओभर मेडन राखे। लिग इतिहासमै कुनै पनि बलरले एकै इनिंगमा २ मेडन गरेको यो पहिलो पटक हो।

युजभेन्द्र चहलले २ विकेट ( ४-०-१५-२ ) लिए भने नभदिप सैनी ( ३-०-२३-१ ) र वासिंगटन सुन्दर ( ४-१-१४-१ ) ले समान १ विकेट लिए।

कोलकाताको इनिंगमा बैंगलोर बलर मोहम्मद सिराजले २ वटा तथा वासिंगटन सुन्दर र क्रिस मोरिसले १/१ वटा मेडन ओभर गरे। आईपीएल इतिहासमै एकै इनिंगमा कुनै पनि टिमले गरेको यो सबैभन्दा धेरै मेडन ओभर हो। यस अघि कुनै पनि टिमले २ भन्दा बढी मेडन ओभर एकै इनिंगमा फालेको थिएन।

अंकतालिका र आगामी खेल 

जितपछि १४ अंक बटुल्दै बैंगलोर मुम्बईलाई पछि पार्दै अंकतालिकाको दोश्रो स्थानमा उक्लेको छ। नेट रन रेटमा दिल्ली अघि रहँदै पहिलो स्थानमा रहेको छ। १२ अंक सहित मुम्बई तेश्रो स्थानमा छ।

१० खेलमा ५ हार र ५ जित बेहोरेको कोलकाता १० अंक सहित चौथो स्थानमा यथावत रहेको छ। ८ अंक सहित पन्जाब पाँचौ स्थानमा र समान अंक रहेको राजस्थान छैठौं स्थानमा छ। समान ६ अंक रहेको हैदरावाद र चेन्नाई सातौँ र आठौँ स्थानमा रहेको छ।

बैंगलोरले आगामी खेल आइतबार चेन्नाईसंग तथा कोलकाताले शनिवार दिल्ली बिरुद्ध खेल्ने तालिका रहेको छ। लिग अन्तर्गत बिहिबार राजस्थान र हैदरावाद बीच दुबई अन्तर्राष्ट्रिय स्टेडियममा प्रतिस्पर्धा हुनेछ।

कोलकाताको लज्जास्पद कीर्तिमान, बैंगलोरसंग ८४ रनमै सिमित

चेन्नाईका अलराउण्डर ब्राभो आईपीएलबाट बाहिरिए

लाराद्वारा पन्जाब कप्तान केएल राहुलको तारिफ

भारतले अनुमति नदिंदा मुख्य प्रशिक्षक राजपुत बिनै पाकिस्तान पुग्यो जिम्बाब्वे क्रिकेट टिम

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy