आईपीएल २०२० अन्तर्गत ४१ औं खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई ५९ रनको विशाल अन्तरले पराजित गर्दै छैठौं जित दर्ता गरेको छ।
शेख जायद अबुधाबीमा सम्पन्न खेलमा कोलकाताले दिएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो।
दिल्लीको लागि कप्तान श्रेयस ऐयरले सर्वाधिक ४७ रन बनाए जुन क्रममा ३८ बलमा ५ चौका प्रहार गरे। रिशभ पन्तले २७ रन, रभीचन्द्रन आश्विनले अविजित १४ रन, शिमरन हेटमायरले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

कमजोर सुरुवात गर्ने क्रममा दिल्ली ओपनर अजिंके रहाने इनिंगको पहिलो बलमा प्याट कमिन्सबाट एलबिडब्लु आउट भएका थिए। त्यसपछि ६ रन बनाएका शिखर धवनलाई बोल्ड गर्दै कमिन्सले दोश्रो विकेट लिए। तेश्रो विकेटको लागि कप्तान ऐयरले रिशभ पन्तसंग ६३ रनको साझेदारी गरे। १२ औं ओभरमा पन्तलाई वरुण चक्रवर्तीले क्याच आउट गराए।
त्यसपछि चक्रवर्तीले शानदार बलिंग गर्ने क्रममा शिमरन हेटमायर र ऐयरलाई १४ औं ओभरमा लगातार बलमा आउट गरेर कोलकातालाई खेलमा हावी गराए। १६ औं ओभरमा ६ रन बनाएका स्टोइनिसलाई पनि क्याच आउट गराएर चक्रवर्तीले चौथो विकेट लिए। सोहि ओभरमा अक्षर पटेललाई बोल्ड गर्दै चक्रवर्तीले ५ विकेट पुरा गरे। त्यसपछि कोलकाता खेलमा पूर्णत हावी रह्यो।
चक्रवर्तीको सिजनकै उत्कृस्ट स्पेल

कोलकाताको बलिंगमा अफस्पिनर वरुण चक्रवर्तीले सर्वाधिक ५ विकेट लिए जुन क्रममा ४ ओभरमा २० रन मात्र खर्चिए। आईपीएल २०२० कै यो सबैभन्दा उत्कृस्ट बलिंग स्पेल हो भने चक्रवर्तीले लिगमा ५ विकेट लिएको पहिलो पटक हो। चक्रवर्तीको स्पेल लिग इतिहासकको १६ औं उत्कृस्ट स्पेल हो। वरुण लिग इतिहासमै ५ विकेट लिने मात्र दोश्रो अनक्याप्ड खेलाडी हुन्। यस अघि अंकित राजपुतले २०१८ मा ५ विकेट लिएका थिए। आईपीएलमा हालसम्म २१ जना बलरले ५ विकेट लिन सकेका छन्।
यस्तै प्याट कमिन्सले ३ विकेट लिने क्रममा ४ ओभरमा १७ रन खर्चिए जुन उनको पनि आईपीएलमा उत्कृस्ट स्पेल हो। लकी फर्गुसनले १ विकेट लिए जुन क्रममा ४ ओभरमा ३० रन खर्चिए।
कोलकाताको ब्याटिंग
यस अघि टस हारेर ब्याटिंग गरेको कोलकाताले ६ विकेट गुमाएर १९४ रन बनाएको थियो।
कोलकाताको लागि नितिश रानाले सर्वाधिक ८१ रन बनाए जुन क्रममा ५३ बलमा १३ चौका र १ छक्का हिर्काए। सुनिल नारायणले जारि सिजन पहिलो अर्धशतक बनाउने क्रममा ३२ बलमा ६ चौका र ४ छक्का मद्दतले ६४ रन बनाए। नारायणको आईपीएल करियरमा पाँचौ तथा रानाको दशौँ अर्धशतक हो।
कोलकाताले सुरुवातमा नियमित विकेट गुमाउन पुग्यो। ९ रन बनाएका ओपनर शुबमन गिल तथा १३ रन बनाएका राहुल त्रिपाठीलाई एनरिक नोर्कियाले पेभेलियन फर्काए। दिनेश कार्तिकलाई रबाडाले मात्र ३ रनको स्कोरमा आउट गरे।

आठौँ ओभरमा ४२/३ को अवस्थाबाट ओपनर नितिश राना र पाँचौ नम्बरमा आएका स्निल नारायणले आक्रामक ब्याटिंग गर्दै शतकीय साझेदारी गरे। १७ औं ओभरमा नारायणलाई रबाडाले रहानेबाट क्याच आउट गराउदै ११५ रनको साझेदारी तोडे।
पाँचौ विकेटको लागि रानाले कप्तान ओएन मोर्गनसंग १९ बलमा ३७ रनको साझेदारी गरे। राना अन्तिम ओभरको पाँचौ बलमा स्टोइनिसबाट क्याच आउट भए। लगत्तै बलमा कप्तान मोर्गन ९ बलमा १७ रन बनाएर क्याच आउट भए।
दिल्लीको बलिंगमा कागीसो रबाडा ( ४-०-२७-२ ) , एनरिक नोर्किया ( ४-०-३३-२ ) र मार्कस स्टोइनिसले ( ४-०-४१-२ ) ले समान २ विकेट लिए। रबिचन्द्रन आश्विन ( ३-०-४५-० ) , तुषार देशपाण्डे ( ४-०-४०-० ) र अक्षर पटेल ( १-०-७-० ) विकेटविहिन रहे।
अंकतालिका र आगामी खेल
जितपछि ११ खेलमा ६ जित र ५ हार बेहोरेको कोलकाता १२ अंक सहित अंकतालिकाको चौथो स्थानमा यथावत रहेको छ। कोलकाता प्लेअफ पुग्नको लागि अझै कम्तिमा एउटा जित्नु पर्नेछ भने अब २ वटा जितले प्लेअफमा स्थान पक्का गर्नेछ। अब कोलकाताले पन्जाब, चेन्नाई र राजस्थानसंग खेल्न बाँकी रहेको छ।
हार पछि पनि दिल्ली ११ खेलमा ७ जित र ४ हार पछि १४ अंक सहित दोश्रो स्थानमा यथावत रहेको छ। मुम्बई १४ अंक सहित पहिलो स्थानमा तथा बैंगलोर समान अंक सहित तेश्रो स्थानमा रहेको छ।
लिग अन्तर्गत कोलकाताले आगामी खेल बिहिबार चेन्नाई बिरुद्ध तथा दिल्लीले हैदरावाद बिरुद्ध बिहिबार खेल्ने तालिका रहेको छ। दिल्लीलाई अब ३ खेलमा एउटा जितले प्लेअफ पुर्याउनेछ।
चेन्नाई बिरुद्ध बैंगलोरले हरियो जर्सी लगाएर खेल्ने, जान्नुस कारण
IPL : प्ले-अफ पुग्न कुन टिमले के गर्नुपर्छ, हेर्नुस समीकरण
धवनले बताए रिकी पोन्टिङसंग भएको संवादले कसरि उनलाई सहयोग गर्यो