आयो आईपीएलको खेलतालिका, उद्घाटन खेलमा धोनी र कोहलीको भेट

इन्डियन प्रिमियर लिगको १२ औं संस्करणको खेलतालिका सार्वजनिक भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा विराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंगलोर र महेन्द्रसिंह धोनी कप्तानीको चेन्नाई सुपर किंग्स प्रतिस्पर्धा गर्ने भएका छन्।

चेन्नाई गत संस्करणको बिजेता टिम हो। उसले फाइनल खेलमा केन विलियम्सनको कप्तानीमा रहेको सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै तेस्रो पटक उपाधी जितेको थियो।

मार्च २३ तारिख देखि सुरु हुने प्रतियोगिताको पहिलो २ हप्ताको खेलतालिका मात्र सार्वजनिक गरिएको छ। भारतमा लोकसभाको चुनाब हुने भएकोले त्यसपछीको खेलतालिका भने चुनाबको मिति सार्वजनिक भएपछि मात्र गरिने आईपिएल द्वारा जारि प्रेस वक्तव्यमा जनाइएको छ।

पहिलो २ हप्तामा १७ खेलहरु हुनेछन्। सबै टिमहरुले कम्तिमा ४ खेलहरु खेल्नेछन् भने दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरले सर्वाधिक ५/५ खेल खेल्नेछन्।

नेपाली लेग स्पिनर सन्दिप लामिछाने आबद्द टिम दिल्ली क्यापिटल्सले प्रतियोगिताको आफ्नो पहिलो खेलमा मार्च २४ तारिखमा मुम्बई इन्डियन्सको सामना गर्नेछ। सन्दिपलाई गत संस्करणमा दिल्ली क्यापिटल्स (तत्कालिन दिल्ली डेयरडेभिल्स) ले खेलाडी लिलामी कार्यक्रममा आधार मूल्य भारतीय २० लाखमा खरिद गरेको थियो भने सोहि मूल्यमा यो सिजनको लागि पनि रिटेन गरेको छ।

गत संस्करणमा दिल्लीले १४ खेलबाट ५ खेलमा जित र ९ खेलमा हार व्यहोर्दै १० अंकका साथ अङ्कतालिकाको पुच्छारमा रहेको थियो। सन्दिपले अन्तिमका ३ खेलमा मात्र अवसर पाउँदा ५ विकेट लिएका थिए। त्यस क्रममा उनले पार्थिव पटेल, सुरेश रैना, कायरन पोलार्ड, सूर्यकुमार यादव र क्रुनाल पान्ड्यको विकेट लिएका थिए।

सन्दिप भर्खरै बिग ब्यास लिगको फाइनलमा मेलबर्न स्टार्सको तर्फबाट खेल्दै रेनेगेड्ससँग पराजित हुँदा टिमको अन्तिम एघारमा स्थान बनाउंदै ४ ओभरमा मात्र १६ रन खर्चेका थिए भने हाल पाकिस्तान सुपर लिगमा डेब्युको तयारीमा रहेका छन्। उनको टिम लाहोर कलन्दरले शुक्रबार मुल्तान सुल्तानको सामना गर्नेछ।

(फिचर फोटो: आइपिएल टि२०.कम फाइल)

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy