आईपीएल २०२० अन्तर्गत शनिवारको दोश्रो तथा लिगको ३५ औं खेलमा चेन्नाई सुपर किंग्स र दिल्ली क्यापिटल्स प्रतिस्पर्धा गरिरहेका छन्। दिनको पहिलो खेलमा बैंगलोरले राजस्थानलाई ७ विकेटले पराजित गर्यो।
शारजाह मैदानमा टस जितेर ब्याटिंग गरेको चेन्नाईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७९ रन बनाउदै दिल्लीलाई १८० रनको लक्ष्य प्रस्तुत गरेको छ।
चेन्नाईको लागि ओपनर फाफ डु प्लेसीले जारि सिजन चौथो अर्धशतक बनाउने क्रममा सर्वाधिक ५८ रन बनाए। उनले ४७ बलमा ६ चौका र २ छक्का प्रहार गरे। अम्बाति रायडुले अविजित २५ बलमा ४५ रन बनाए जुन क्रममा १ चौका र ४ छक्का प्रहार गरे। रभिन्द्र जडेजाले अविजित ३३ रन बनाए जुन क्रममा मात्र १३ बलमा ४ चौका प्रहार गरे। शेन वाटसनले २८ बलमा ६ चौका मद्दतले ३६ रन बनाए।
ओपनर स्याम करन पहिलो ओभरमै खाता नखोली तुषार देशपाण्डेबाट क्याच आउट भए पछि दोश्रो विकेटको लागि अर्का ओपनर फाफ डु प्लेसी र शेन वाटसनले ८७ रनको साझेदारी गरे। १२ औं ओभरमा वाटसनलाई नोर्कियाले बोल्ड गर्दै साझेदारी तोडे। १५ औं ओभरमा डु प्लेसीलाई रबाडाले शिखर धवनबाट क्याच आउट गराए। १७ औं ओभरमा ३ रन बनाएका धोनीलाई नोर्कियाले विकेटकिपर एलेक्स केरीबाट क्याच आउट गराए।
धोनीको विकेटपछि चौथो नम्बरमा आएका रायडुले रभिन्द्र जडेजासंग उत्कृस्ट साझेदारी गरे। यस क्रममा दुवैले पाँचौ विकेटको लागि मात्र २१ बलमा ५० रनको साझेदारी गरे। अन्तिम ५ ओभरमा चेन्नाईले ६७ रन बनायो।
दिल्लीको बलिंगमा एनरिक नोर्कियाले सर्वाधिक २ विकेट ( ४-०-४४-२ ) लिए। कागीसो रबाडा ( ४-१-३३-१ ) र तुषार देशपाण्डेले १ विकेट ( ४-०-३९-१ ) लिए। अक्षर पटेल ( ४-०-२३-० ) , रभीचन्द्रन आश्विन ( ३-०-३०-० ) र मार्कस स्टोइनिस ( १-०-१०-० ) विकेटविहिन रहे।
रबाडाको नयाँ कीर्तिमान
कागीसो रबाडा आईपीएलमा ५० विकेट लिने सबैभन्दा छिटो बलर बनेका छन्। उनले २७ खेलमा ५० विकेट पुरा गरेका हुन्। यस क्रममा उनले सुनिल नारायणको ३२ खेलमा ५० विकेट लिएको रेकर्ड तोडेका हुन्। लासिथ मालिंगाले ३३ खेलमा, इमरान ताहिरले ३५ खेलमा, मिचेल म्याकलेनघनले ३६ खेलमा तथा अमित मिश्राले ३७ खेलमा ५० विकेट पुरा गरेका हुन्।
यस्तै उनि सबैभन्दा थोरै बल फालेर ५० विकेट लिने बलर पनि बनेका छन्। यस अघि लासिथ मालिंगाले ७४९ बलमा ५० विकेट लिंदै यो रेकर्ड बनाएका थिए। सुनिल नारायणले ७६० बलमा , इमरान ताहिरले ७६६ बलमा तथा मोहित शर्माले ७९७ बलमा ५० विकेट लिएका थिए।
लिग अंकतालिकामा दिल्ली १२ अंक सहित दोश्रो तथा चेन्नाई ६ अंक सहित छैठौं स्थानमा रहेको छ। आज विजयी भए दिल्ली शिर्षस्थानमा तथा चेन्नाई चौथो स्थानमा उक्लनेछ।
डी भिल्लीयर्सको विस्फोटक अर्धशतक, बैंगलोरद्वारा राजस्थान पराजित
कोहली र स्मिथद्वारा डी भिल्लीयर्सको तारिफ – “एबिको लागि कुनै पनि बाउन्ड्री ठूलो छैन”
कोलकाताको कप्तान फेर्ने निर्णय गम्भीरलाई किन चित्त बुझेन