युएईमा जारि १३ औं आईपीएल अन्तर्गत ५३ औं खेलमा किंग्स-११ पन्जाब र चेन्नाई सुपर किंग्स प्रतिस्पर्धा गरिरहेका छन्।
अबुधाबी स्थित शेख जायद स्टेडियममा टस हारेर ब्याटिंग गरेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाउदै १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
पन्जाबको लागि दिपक हुडाले सर्वाधिक ६२ रन बनाए जुन क्रममा ३० बलमा ३ चौका र ४ छक्का प्रहार गरे। आईपीएल करियरमा हुडाको यो दोश्रो अर्धशतक हो। पछिल्लो पटक उनले २०१५ मा अर्धशतक बनाएका थिए। उनले पहिलो र दोश्रो अर्धशतक बीचमा ४८ खेल खेले जुन आईपीएलमा २ वटा अर्धशतकको बीचमा दोश्रो ठुलो अन्तर हो। यस अघि सबैभन्दा धेरै युसुफ पठानले ४९ खेलको अन्तरमा २ वटा अर्धशतक बनाएका थिए।
कप्तान केएल राहुलले २९, मायाँक अग्रवालले २६, मन्दिप सिंहले १४, क्रिस गेलले १२ रन बनाए। क्रिस जोर्डनले अविजित ४, निकोलस पुरन र जेम्स निशमले समान २ रन बनाए।

पहिलो विकेटको लागि केएल राहुल र मायाँक अग्रवालले ४८ रनको साझेदारी गरेका थिए। छैठौं र नवौं ओभरमा लुंगी एनगीडीले अग्रवाल र राहुलको विकेट लिएपछि पन्जाबले लगातार विकेट गुमायो। ११ औं ओभरमा निकोलस पुरन तथा १३ औं ओभरमा क्रिस गेललाई शार्दुल ठाकुर र इमरान ताहिरले पेभेलियन फर्काए।
७२/४ को अवस्थाबाट मन्दिप सिंहले दिपक हुडासंग ३६ रनको साझेदारी गर्दै टिमको योगफल १०० पार गराए। १६ औं ओभरमा सिंहलाई रभिन्द्र जडेजाले बोल्ड गर्दै साझेदारी तोडे। लगत्तै ओभरमा जेम्स निशमलाई एनगीडीले तेश्रो शिकार बनाए।
अर्को किनारमा विकेट गुमेता पनि दिपक हुडाले एक किनार सम्हाल्दै ब्याटिंग गरे जसलाई क्रिस जोर्डनले साथ दिए। १८ औं ओभरमा हुडाले एनगीडीको ओभरमा २ छक्का हिर्काए जुन ओभरमा कुल १६ रन बन्यो। एनगीडीले गरेको इनिंगको अन्तिम ओभरमा हुडाले १ चौका र १ छक्का हिर्काए।
सातौँ विकेटको लागि हुडा र जोर्डनले मात्र १७ बलमा ४० रनको साझेदारी गरे। अन्तिम ५ ओभरमा पन्जाबले २ विकेट गुमाएर ५८ रन बनायो।

चेन्नाईको बलिंगमा लुंगी एनगीडीले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ३९ रन खर्चिए। शार्दुल ठाकुर ( ४-०-२७-१ ), रभिन्द्र जडेजा ( ३-०-१७-१ ) , इमरान ताहिर ( ४-०-२४-१ ) ले समान १ विकेट लिए।
पन्जाब प्लेअफ पुग्ने समीकरण
– पन्जाबले आज चेन्नाईलाई पराजित गर्ने हो भने नेट रन रेटमा पन्जाब अघि बढ्ने सम्भावना प्रवल हुन्छ किनकि पन्जाबको नेट रन रेट कोलकाता, राजस्थान, बैंगलोर र दिल्ली भन्दा राम्रो रहेको छ।
– दिल्ली र बैंगलोरको हार पछि पन्जाब राम्रो अवस्थामा रहेको छ। दिल्ली र बैंगलोरको भन्दा नेट रन रेट पन्जाबको राम्रो रहेको छ। त्यसैले दिल्ली र बैंगलोर मध्ये पराजित हुने टिम भन्दा पन्जाब नेट रन रेटमा पछि पार्दै प्ले-अफ पुग्न सक्छ
– पन्जाबले चेन्नाईलाई पराजित गर्ने तथा हैदरावादले मुम्बईसंग हार बेहोरेको खण्डमा पनि पन्जाबलाई नेट रन रेटमा अघि बढ्न सहज हुनेछ। त्यो अवस्थामा कोलकाता र राजस्थानको १४ अंक रहेता पनि नेट रन रेटमा पन्जाबलाई पछि पार्ने सम्भावना असम्भव जस्तो छ।
– चेन्नाईसंग पराजित भए पन्जाबको प्ले-अफ सम्भावना समाप्त हुनेछ।
यो पनि पढ्नुस :-
IPL : ४ खेल बाँकी, ३ प्ले-अफ स्थानको लागि ६ टिमको रेस , यस्तो छ समीकरण
पन्जाबसंगको खेल अघि धोनीको ठूलो घोषणा ‘यो मेरो आईपीएलमा अन्तिम खेल हैन’
टाउकोको उचाइको बललाई ‘नो बल’ नदिएपछि खेलाडी र फ्यानहरु चकित
