कोलकातासामु हैदराबादको चलेन ब्याटिङ, १५९ रनमा नै अल आउट

२०८१ जेष्ठ ८, मंगलवार २१:३३

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को पहिलो क्वालिफायर खेलमा कोलकाता नाइट राईडर्सको बलरसामू चल्न नसक्दा सनराइजर्स हैदराबाद १ सय ५९ रनमा नै अल आउट भएको छ ।

नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदाबादमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको हैदराबाद १९ दशमलब ३ ओभरमा अल आउट हुँदै १ सय ५९ रन मात्र बनायो ।

हैदराबादका लागि राहुल त्रिपाटीले ३५ बलमा ७ चौका र १ छक्काको सहयोगमा ५५ रनको अर्धशतकीय ईनिङ खेले । हेनरिक क्लासेनले २१ बलमा ३ चौका र १ छक्काको सहयोगमा ३२ रन बनाए । कप्तान प्याट कमिसंले २४ बलमा ३० रन बनाउँदै टोलीलाई सम्मानजनक योगफलसम्म पुर्याए ।

दोस्रो बलमा ओपनर ट्राभिस हेडलाई शुन्य रनमा गुमाएको हैदराबादले दोस्रो ओभरमा अर्का ओपनर अभिसेक शर्मालाई पनि गुमायो ।

तेस्रो विकेटका रुपमा नितिश रेड्डीलाई गुमाएको हैदराबादका लागि क्लासेन र त्रिपाठीले पाँचौ विकेटका लागि ६० रनको महत्वपूर्ण साझेदारी गरे पनि क्लासेन बरुण चक्रवर्तीको बलमा आउट हुदा सो साझेदारी तोडिएको थियो ।

अब्दुल समादले १२ बलमा १६ रन बनाउँदै टोलीलाई सम्मानजनक योगफल तर्फ लम्काए पनि हर्षित रानाको बलमा उनी पनि आउट भएसँगै हैदराबादको अपेक्षा पनि सकियो ।

कोलकाताका लागि मिचेल स्टार्कले तीन तथा बरुण चक्रवर्तीले दुई विकेट लिए ।

यस पहिलो क्वालिफायरमा विजेता हुने टोलीले फाइनलमा स्थान बनाउने छ भने पराजित टोलीले बुधबार हुने इलिमिनेट खेलको विजेतासँग फाइनल प्रवेशका लागि फेरी खेल्नेछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy