कप्तान तामिम इक्बालको शतक, बंगलादेशद्वारा सिरिज क्लिन स्विप

२०७८ श्रावण ५, मंगलवार २१:०२

कप्तान तामिम इक्बालको शतकीय पारि मद्दतले घरेलु टोलि जिम्बाब्वे बिरुद्ध तीन वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत तेश्रो खेल ५ विकेटले जित्दै बंगलादेशले सिरिज ३-० ले क्लिन स्विप गरेको छ। सिरिज अन्तर्गत पहिलो र दोश्रो खेलमा बंगलादेश क्रमशः १५५ रन र ३ विकेटले विजयी भएको थियो।

हरारे स्पोर्ट्स क्लबमा सम्पन्न खेलमा जिम्बाब्वेले दिएको २९९ रनको लक्ष्य बंगलादेशले २ ओभर बाँकी रहँदै ५ विकेट गुमाएर भेटायो।

बंगलादेशको ब्याटिंगमा ओपनिंग गरेका कप्तान तामिम इक्बालले करियरको १४ औं एकदिवसीय अन्तर्राष्ट्रिय शतक बनाउने क्रममा ११२ रन योगदान दिए। उनले ९७ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। यस्तै नुरुल हसनले अविजित ४५ रन, लिटन दासले ३२, शाकिब अल हसन र मोहम्मद मिथुनले समान ३० रन तथा अफिफ होसेनले अविजित २६ रन योगदान दिए।

इक्बालले लिटन दाससंग ८८ रनको ओपनिंग साझेदारी गर्दै उत्कृस्ट सुरुवात दिलाएका थिए। त्यसपछि उनले दोश्रो विकेटको लागि शाकिब अल हसनसंग ५९ रन तथा तेश्रो विकेटको लागि मोहम्मद मिथुनसंग ५७ रनको साझेदारी गरे। इक्बाललाई ३५ औं ओभरमा डोनाल्ड त्रिपानोले क्याच आउट गराए।

इकबालको विकेटपछि मिथुनले पाँचौ विकेटको लागि नुरुल हसनसंग ६४ रनको साझेदारी गर्दै टिमलाई जिततर्फ डोर्याए। ४४ औं ओभरमा मिथुन आउट भएपछि हसनले अफिफ होसेनसंग ३४ रनको साझेदारी गर्दै जितसम्म पुर्याए।

जिम्बाब्वेको बलिंगमा वेसले मधिभिरे ( १०-०-४५-२ ) र डोनाल्ड त्रिपानो ( ७-०-६१-२ ) ले समान २ विकेट तथा लुक जोंगवेले १ विकेट लिए।

कप्तान तामिम इक्बालले एकदिवसीय अन्तर्राष्ट्रिय करियरको १४ औं शतक बनाए

यस अघि टस हारेर ब्याटिंग गरेको जिम्बाब्वेले ४९.३ ओभरमा सबै विकेट गुमाएर २९८ रन बनाएको थियो।

जिम्बाब्वेको लागि ओपनर रेगिस चकाभाले सर्वाधिक ८४ रन योगदान दिए जुन क्रममा उनले ९१ बलमा ७ चौका र १ छक्का प्रहार गरे। रायन बर्लले ५९ रन, सिकन्दर राजाले ५७ रन, डायन मेयर्सले ३४ रन तथा कप्तान ब्रेण्डन टेलरले २८ रन योगदान दिए।

चकाभाले ओपनर ताडीवानाशे मारुमानीसंग ३६ रन, ब्रेण्डन टेलरसंग ४२ रनको तथा डायन मेयर्ससंग ७१ रनको साझेदारी गरेका थिए। ३५ औं ओभरमा चकाभालाई तास्किन एहमदले बोल्ड गरे। त्यसपछि सिकन्दर राजा र रायन बर्लले छैठौं विकेटको लागि ११२ रनको साझेदारी गरे। राजालाई ४८ औं ओभरमा मुस्तफिजुर रहमानले तथा बर्ललाई ४९ औं ओभरमा मोहम्मद सैफुद्दीनले पेभेलियन फर्काए।

बंगलादेशको बलिंगमा दायाँ हाते पेसर मोहम्मद सैफुद्दीनले ३ विकेट लिएता पनि महँगो सावित हुने क्रममा ८ ओभरमा ८७ रन खर्चिए। मुस्तफिजुर रहमानले पनि समान ३ विकेट लिंदा ९.३ ओभरमा ५७ रन खर्चिए। महमुदुल्लाहले २ विकेट ( १०-०-४५-२ ) तथा शाकिब अल हसन ( १०-०-४६-१ ) र तास्किन एहमद ( १०-१-४८-१ ) ले समान १ विकेट लिए।

दुई देश बीच जुलाई २२ तारिख देखि तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज खेलिनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy