मार्क अडेरले घातक बलिंग, आयरल्याण्डको सिरिज जित

दायाँ हाते पेसर मार्क अडेरले घातक बलिंग गर्दा गय राति सम्पन्न चौथो खेलमा जिम्बाब्वेलाई ६४ रनको विशाल अन्तरले पराजित गर्दै घरेलु टोलि आयरल्याण्डले पाँच खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिज एक खेल अगावै ३-१ ले जित्न सफल भएको छ।

नर्दर्न आयरल्याण्डको ब्रिडी क्रिकेट क्लब मैदानमा सम्पन्न खेलमा आयरल्याण्डले दिएको १७५ रनको लक्ष्य पछ्याउने क्रममा जिम्बाब्वेले २० ओभरमा ९ विकेट क्षेतीमा ११० रन मात्र बनाउन सक्यो। उसको लागि कप्तान क्रेग इर्भिनले सर्वाधिक २८,लुक जोंग्वेले अविजित २४ रन तथा रेगिस चकभा र रिचर्ड नगराभाले समान ११ रन योगदान दिए।

लक्ष्य पछ्याउने क्रममा आयरल्याण्ड पेसर मार्क अडेरले जिम्बाब्वेको सुरुवाती ३ ब्याट्सम्यानलाई पेभेलियन फर्काएका थिए। २५ रनमा ३ विकेट गुमाएपछि जिम्बाब्वेले लगातार विकेट गुमाउन पुग्यो र आयरल्याण्ड पुरै समय हावी रह्यो। अडेरले करियरकै उत्कृस्ट बलिंग गर्ने क्रममा ४ ओभरमा मात्र २३ रन खर्चेर ४ विकेट लिए। यस्तै शेन गेटकाटेले २ तथा क्रेग योंग, ब्यारी म्याकार्थी र सिमि सिंहले समान १ विकेट लिए।


यस अघि टस हारेर ब्याटिंग गरेको आयरल्याण्डले २० ओभरमा ४ विकेट क्षेतीमा १७४ रन बनाएको थियो। उसको लागि ओपनर केभिन ओ ब्रायनले सर्वाधिक ४७ रन, पल स्टरलिंगले ३९ रन, एन्ड्रयु बालबर्नीले ३६ रन योगदान दिए। ओ ब्रायन र स्टरलिंगले ८९ रनको ओपनिंग साझेदारी गरेका थिए।

जिम्बाब्वेको बलिंगमा वेलिंगटन मासाकाट्जाले २ तथा रिचर्ड नगराभा र लुक जोंग्वेले समान १ विकेट लिए।

सिरिज अन्तर्गत पहिलो खेल जिम्बाब्वेले ३ रनले जितेको थियो भने दोश्रो र तेश्रो खेल आयरल्याण्डले ७ विकेट र ४० रनले जितेको थियो। सिरिजको अन्तिम खेल सेप्टेम्बर ४ तारिखमा खेलिनेछ। दुई देश बीच सेप्टेम्बर ८ तारिख देखि तिन वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरीज खेलिनेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy