काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपको तेह्रौं खेलमा क्यानडाले आयरल्यान्डमाथि जित निकालेको छ ।
अमेरिकाको न्युयोर्कमा भएको खेलमा दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा क्यानडाले आयरल्यान्डलाई १२ रनले पराजित गर्यो ।
क्यानडाले दिएको १ सय ३८ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १ सय २५ रन मात्र बनायो ।
आयरल्यान्डका लागि मार्क अडिरले २४ बलमा ३४ तथा जर्ज डकरेलले २३ बलमा अविजित ३० रन बनाए । ओपनर एन्डि बालबर्नीले १७ तथा लुर्कान टुर्करले १० रन बनाउँनु बाहेक आयरल्यान्डका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
डकरेल र अडिरले सातौं विकेटका लागि ४१ बलमा ६२ रनको साझेदारी मार्फत जितको आशा दिलाए पनि त्यो सम्भव हुन सकेन ।
ि
क्यानडाका लागि जिरीम्यान गार्डन र डेलिन हेलिङ्गरले समान दुई दुई तथा जुनेद सिद्धिकी र कप्तान शाद विन जाफरले समान एक एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो ।
क्यानडाका लागि निकोलस किर्तनले ३५ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४९ रन बनाए । श्रेयस मोभ्भाले ३६ बलमा ३७ तथा प्रगत सिंहले १४ बलमा १८ रन बनाए ।
आयरल्यान्डका लागि क्रिग योगं र ब्यारी म्याकार्थीले समान दुई दुई तथा ग्यारेथ डिलेनी र मार्क अडिरले समान एक एक विकेट लिए ।
दुई खेलमा दुई अंकका साथ क्यानडा समूह ए को तेस्रो स्थानमा उक्लिएको छ । आयरल्यान्ड भने दोस्रो खेलमा अंक बिहिन रहदै पाँचौ स्थानमा कायमै छ ।
पहिलो पटक टी-२० विश्वकपमा सहभागीता जनाएको क्यानडाले आफ्नो दोस्रो खेलमा नै जित हासिल गरेको छ ।