सातौं संस्करणको टि-ट्वान्टी विश्वकप अन्तर्गत समुह ‘ए’ अन्तर्गतको खेलमा आयरल्याण्ड र नामिबिया प्रतिस्पर्धा गरिरहेका छन्। खेलको विजेता टिम सुपर-१२ चरण प्रवेश गर्नेछ भने पराजित हुने टीम बाहिरिनेछ। समुह ‘ए’ बाट श्रीलंका सुपर-१२ चरण प्रवेश गरिसकेको छ।
युएईको शारजाह मैदानमा जारी खेलमा टस जितेर ब्याटिंग गरेको आयरल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट क्षेतीमा १२५ रन बनाउदै नामिबियालाई १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
आयरल्याण्ड ओपनर पल स्टरलिंग र केभिन ओ ब्रायनले ६२ रनको ओपनिंग साझेदारी गरे। आठौँ ओभरमा ३८ रन बनाएका स्टरलिंग आउट भएपछि लगत्तै ओभरमा २५ रन बनाएका ओ ब्रायन पनि आउट भए। त्यसपछि आयरल्याण्डले सुस्त ब्याटिंग गर्यो भने मध्यक्रम ब्याट्सम्यानहरु लामो समय क्रिजमा जम्न सकेनन्। कप्तान एन्ड्रयु बालबर्नीले २१ रन बनाएता पनि अन्य ब्याट्सम्यानहरु क्रिजमा जम्न सकेनन्। इनिंग्सको अन्तिम ५ ओभरमा उसले ५ विकेट गुमाएर ३० रन मात्र बनाउन सक्यो।
नामिबियाको बलिंगमा जान फ्राईलिंकले सर्वाधिक ३ विकेट ( ४-०-२१-३ ) लिए। डेभिड विजेले २ विकेट ( ४-०-२२-२ ) लिंदा जेजे स्मिथ र बर्नार्ड स्कल्जले समान एक विकेट लिए।
छैठौं पटक टि-ट्वान्टी विश्वकप खेलीरहेको आयरल्याण्ड सन् २००९ मा पहिलो सहभागितामा दोश्रो चरण प्रवेश गर्न सफल भएको थियो। त्यसपछि २००९, २०१०, २०१२, २०१५ र १०१६ को संस्करणमा पहिलो चरणमै यात्रा टुंगिएको थियो। अर्कोतर्फ पहिलो पटक विश्वकप खेलीरहेको नामिबियालाई आज विजयी भए पहिलो सहभागितामै दोश्रो चरण प्रवेश गर्ने अवसर छ।