सिमि सिंहको विश्वकीर्तिमानि शतकका बाबजुद आयरल्याण्ड सहजै पराजित

तेस्रो एकदिवसीयमा ७० रनको सहज जित निकाल्दै दक्षिण अफ्रिकाको आयरल्याण्ड भ्रमण अन्तर्गत ३ खेलको एकदिवसीय शृंखला १-१ को बराबरीमा समाप्त भएको छ। यसअघि पहिलो खेल वर्षाका कारण नतिजाविहिन टुंगिएको थियो भने दोस्रो खेलमा आयरल्याण्डले ४३ रनको ऐतिहासिक जित निकाल्दै सिरिजमा अग्रता लिएको थियो।

डब्लिनस्थित द भिलेजमा सम्पन्न खेलमा ३४७ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले ४७.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर मात्र २७६ रन बनाउन सक्यो।

आयरल्याण्डको लागि आठौँ नम्बरमा ब्याटिंग गरेका सिमि सिंहले अविजित शतकीय योगदान दिए जुन क्रममा ९१ बलमा १४ चौका मद्दतले १०० रन बनाए। कर्टिस क्याम्फरले ५४ रन बनाउनु बाहेक अन्य ठूलो योगदान रहेन।

करियरको पहिलो शतक बनाएका सिमि सिंहले नयाँ विश्वकीर्तिमान बनाएका छन्। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आठौँ नम्बरमा ब्याटिंग गर्दै शतक बनाएको इतिहासमै पहिलो अवसर हो। यस भन्दा अघि आठौँ नम्बरमा ब्याटिंग गर्दै सर्वाधिक रन बनाउने ब्याट्सम्यान इंग्ल्यान्डका क्रिस वोक्स र स्याम करन थिए। वोक्सले सन् २०१६ मा श्रीलंका बिरुद्ध र करनले यसै वर्ष मार्चमा भारत बिरुद्ध समान अविजित ९५ रन बनाएका थिए।


विशाल लक्ष्य पछ्याएको आयरल्याण्डको शुरुवात खराब रह्यो। उसले २७ रनको योगफलमै सुरुवाती ३ विकेट गुमाउन पुग्यो। ओपनरद्वय पल स्टरलिंगलाई ११ तथा कप्तान एन्डी बालबर्नीलाई ७ रनमा स्पिनर केशव महाराजले जानेमन मलानबाट क्याच आउट गराए। एन्डी म्याकब्रायनलाई ९ रनमा लिजाड विलियम्सले कट बिहाइन्ड पारे।

ह्यारी टेक्टर र जर्ज डकरेलले चौथौं विकेटका लागि ५४ रनको अर्धशतकीय साझेदारी गरे। २९ रन बनाएका टेक्टरलाई तब्रेज शाम्सीले एलबीडब्ल्यु धरापमा पारे। लगत्तै डकरेललाई १५ तथा लोर्कान टकरलाई १ रनमा एन्डीले फेलुक्वायोले आउट गरे।

९२/६ को नाजुक स्थितिबाट कर्टिस क्याम्फ़र र सिमि सिंहले सातौँ विकेटका लागि १०४ रनको शतकीय साझेदारी गर्दै आयरल्याण्डको इनिंग्स उकासे। फेलुक्वायोले ५४ बलमा ५४ रन बनाएका क्याम्फ़रलाई आफ्नो तेस्रो शिकार बनाए। सिमि सिंहले दशौँ विकेटको लागि क्रेग योंगसंग ४७ रनको साझेदारी गरेता पनि टिम जितको नजिक पुग्न सकेन।

दक्षिण अफ्रिकाको बलिंगतर्फ एन्डीले फेलुक्वायो र तब्रेज शाम्सीले समान २ विकेट लिए। यस्तै, केशव महाराजले २ तथा लिजाड विलियम्सले र एन्रिक नोर्कियाले समान १ विकेट हात पारे।

मलान र डीककको शतक 

यसअघि टस जितेर ब्याटिंग रोजेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३४६ रन बनाएको थियो।

उसका लागि ओपनरद्वय जानेमन मलान र क्विन्टन डीककले २२५ रनको दोहोरो शतकीय साझेदारी गरे भने दुबैले व्यक्तिगत शतक समेत बनाए। एकदिवसीयमा दक्षिण अफ्रकाका ओपनरद्वयले बनाएको यो पाचौं सर्वाधिक साझेदारी हो भने सन् २००० पछि भएको यो पहिलो दोहोरो शतकीय ओपनिंग साझेदारी हो।

डीकक र मलानले शतक बनाए

मलानले एकदिवसीयमा दोस्रो शतक बनाउने क्रममा १६९ बलमा १६ चौका र ६ छक्काको मद्धतमा अविजित १७७ रन बनाए। यो मलानले एकदिवसीयमा बनाएको सर्वाधिक योगफल हो। यस्तै क्विन्टन डीककले एकदिवसीयमा १६औं शतक बनाउने क्रममा ९१ बलमा ११ चौका र ५ छक्काको सहयोगमा आक्रामक १२० रनको पारि खेले।

रासी भान डर डुसेनले ३० रनको योगदान दिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउँन सकेनन्। डीकक आउट भएपछि मलान र डुसेनले दोस्रो विकेटका लागि ८१ रनको अर्धशतकीय साझेदारी गरेका थिए।

आयरल्याण्डको बलिंगतर्फ जोशुवा लिटलले सर्वाधिक २ विकेट लिए भने क्रेग योंग र सिमि सिंहले समान १ विकेट हात पारे।

दुई देश बीच जुलाई १९ तारिखबाट तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज सुरु हुने तालिका रहेको छ।





थप समाचार

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]

नेपालमा त्रिकोणात्मक सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा अर्को महिना आयोजना हुने त्रिकोणात्मक टी–२० आई सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा भएको छ। नेदरल्यान्ड्स […]

जय ट्रफी दुई दिवसीय क्रिकेट: आर्मीविरुद्ध मधेश फलो अनमा

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत पहिलो दिनको खेल समाप्त हुँदा विभागीय टोली त्रिभुवन आर्मी […]

जय ट्रफी दुई दिवसीय क्रिकेट : बागमतीविरुद्ध पुलिस ९५ रनले अघि

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले […]

महिला टाेलीले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय सिरिजको आयोजना गर्ने भएको छ। क्यानले शनिवार एक विज्ञप्ती […]