डेलानेले अलराउण्ड प्रदर्शन गर्दा आयरल्याण्डसंग स्कटल्याण्ड पराजित

२०७६ भाद्र ३१, मंगलवार २२:२८

आयरल्याण्ड, स्कटल्याण्ड र नेदरल्याण्ड बीच आयरल्याण्डमा जारि त्रिकोणात्मक सिरिज अन्तर्गत तेश्रो खेलमा आयरल्याण्डले स्कटल्याण्डलाई ४ विकेटले पराजित गरेको छ।

सिरिज अन्तर्गत सोमबार सम्पन्न दोश्रो खेलमा स्कटल्याण्डले नेदरल्याण्डलाई ५८ रनले पराजित गरेको थियो। आयरल्याण्ड र नेदरल्याण्ड बीचको पहिलो खेल भने वर्षाले रद्द भएको थियो।

डब्लिनमा सम्पन्न खेलमा स्कटल्याण्डले टस जितेर पहिले ब्याटिंग गर्दै दिएको १९४ रनको लक्ष्य आयरल्याण्डले ६ विकेट गुमाएर १७.४ ओभरमै पुरा गर्यो।

आयरल्याण्डलाई जिताउन एन्ड्रु बालबर्नीले ३२ बलमा ८ चौका र ३ छक्का मदतले ६४ रन तथा गारेथ डेलानेले २८ बलमा ८ चौका र १ छक्का मदतले ५२ रन बनाए।

ओपनर डेलानेले पहिलो विकेटको लागि केभिन ओ ब्रायनसंग ५७ तथा दोश्रो विकेटको लागि बालबर्नीसंग ४२ रनको साझेदारी गरेका थिए। तेश्रो विकेटको लागि बालबर्नीले ह्यारी टक्टरसंग ६७ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए। स्कटल्याण्ड बलर मार्क वाटले सर्वाधिक ३ विकेट लिए।

यस अघि टस जितेर पहिले ब्याटिंग गर्ने क्रममा स्कटल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १९३ रन बनाएको थियो। उसको लागि कलम म्याकलोयडले सर्वाधिक ७२ रन बनाए। ४२ बलमा उनले ८ चौका र २ छक्का प्रहार गरे। अघिल्लो खेलमा शतक बनाएका जर्ज मुनसेले ३४ रन बनाए। आयरल्याण्ड बलर बोयड र्यांकीनले ३ तथा गारेथ डेलानेले २ विकेट लिए।

सिरिज अन्तर्गत चौथो खेल बुधबार आयरल्याण्ड र नेदरल्याण्ड बीच खेलिनेछ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy