शाहिद अफ्रिदीका भतिजा इरफान अफ्रिदीलाई बलिङ्ग गर्न प्रतिबन्ध

  • विकेटनेपाल- २८ कार्तिक, बुधबार

युगान्डाका अलराउण्डर इरफान अफ्रिदीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले अन्तर्राष्ट्रिय क्रिकेटमा बलिंग गर्न रोक लगाएको छ।

ओमानमा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन ३ मा बलिंग गर्ने क्रममा अफ्रिदीको बलिंग एक्सन अबैध पाईएपछि आइसीसीले सो निर्णय लिएको हो।

इरफान अफ्रिदी पाकिस्तानी महान खेलाडी शाहिद अफ्रिदीका भतिजा समेत हुन्।

विश्व क्रिकेट लिग डिभिजन-३ अन्तर्गत डेनमार्क बिरुद्धको युगान्डाको खेलमा अफ्रिदीको बलिंग एक्सन माथि प्रश्न उठेको थियो। सो खेलमा उनले ९ ओभर बलिंग गर्दै २५ रन खर्चिएर १ विकेट लिएका थिए।

अफ्रिदीको संकास्पद बलिंग एक्सनका कारण युगान्डा र अमेरिका बिचको खेल समेत विवादित बन्न पुगेको थियो। खेलका क्रममा अफ्रिदीले अबैध एक्सनले बलिंग गरेको भन्दै मैदानमा रहेका अम्पायरले युगान्डाका कप्तानलाई चेतावनी समेत दिएका थिए। पुन: सोहि किसिमको एक्सनले बलिंग गरेमा नो बल ठहरिने चेतावनी पछि अफ्रिदीले सो खेलमा थप बलिंग गरेका थिएनन्।

अमेरिका र युगान्डा बिचको विवादित खेलपछि आईसीसीको मानब चाल बिशेषज्ञको टोलीले अफ्रिदीको बलिंग एक्सनको भिडियोमा अनुसन्धान गरेको थियो। अनुसन्धानपछि सार्वजनिक प्रतिबेदनका अनुसार अफ्रिदीले बलिंग गर्ने समयमा आफ्नो कुहिनो १५ डिग्रीभन्दा धेरै बंग्याउने गरेको पाइएको छ।

प्रतिबेदनमा लेखिएको छ, “संकास्पद बलिंग एक्सन भएका बलरहरुको लागि बनाइएको आइसीसीको नियमको धारा ३.५ स्वरूप इरफानको बलिंग भिडियो तस्विरहरु मानब चाल बिशेषज्ञको टोलि, मार्क किंग र आन्द्रे कुट्टीलाई बुझाइएको थियो। सो पछिको अनुसन्धान अनुरुप इरफानले बलिंगका समय आफ्नो कुहिनो १५ डिग्री भन्दा धेरै तन्काउने गरेको पाइएको छ।”

आइसीसीको सो निर्णय पछि युगान्डाले अफ्रिदीको स्थानमा अर्का अफ स्पिन बलर फ्रान्क न्सुबुगालाई टोलीमा समेटेको छ। अफ्रिदीले भने आफ्नो बलिंग एक्सन सुधार भएको रिपोर्ट आइसीसीबाट मान्यता प्राप्त प्रशिक्षण केन्द्रबाट नपाएसम्म बलिंग गर्न पाउने छैनन्।

ओमानमा जारी विश्व क्रिकेट लिग डिभिजन ३ मा आयोजक ओमान सहित युगान्डा, अमेरिका, सिंगापुर, केन्या र डेनमार्क गरि ६ टोलि सहभागी रहेका छन्। चौथो दिनका खेलहरु सम्पन्न हुँदासम्म ओमान ३ खेलमा ३ जित सहित अंकतालिकाको शिर्ष स्थानमा रहेको छ।

यस्तै दोस्रो स्थानको अमेरिकाले २ खेलमा २ जित हात पार्दा तेस्रो स्थानको सिंगापुरले २ खेलमा १ जित र १ हार बेहोरेको छ। चौथो स्थानको युगान्डा र पाँचौ स्थानको केन्याले समान ३ खेलमा १ जित र २ हार बेहोरेका छन्।

अंकतालिकाको पुछारमा रहेको डेनमार्क ३ खेल खेल्दा जित बिहिन छ।

डिभिजन ३ का शिर्ष दुई टोलि डिभिजन २ मा उक्लने छन् भने पुछारका दुई टोलि डिभिजन ४ मा घटुवा हुनेछन्।

फोटो : आईसीसी / पिटर लिम 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy