- विकेटनेपाल – १४ चैत्र, बिहिबार
ट्रीटन कलेज र काठमाडौं विश्वविद्यालय (केयू) राजधानीमा जारी गोल्डेन गेट कलेज प्रिमियर लिगको सेमिफाइनलमा प्रवेश गरेका छन्। बुधबार दुवै टोलीले समूहको अन्तिम खेलमा जित दर्ता गर्दै सेमिफाइनल यात्रा तय गरेका हुन्।
ट्रीटनसंग अर्किड पराजित :
दिनको पहिलो खेलमा ट्रीटनले अर्किड कलेजलाई ४४ रनले पराजित गर्दै समूह ‘ए’ को शीर्ष स्थान पक्का गर्यो। टस जितेर पहिलो ब्याटिङ रोजेको ट्रीटनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४२ रन जोडेको थियो। तेस्रो विकेटका लागि आदील खान र प्रदिप ऐरीले ७४ रनको साझेदारी गरेपछि ट्रीटनले बलियो योगफल प्रस्तुत गरेको थियो। दुवै ओपनरलाई १७ रनको स्थितिमा गुमाएपछि ट्रीटन समस्यामा परेको थियो। ओपनरद्वय विनोद भण्डारी ११ रन र कप्तान कृष्ण सिंह नेगी ३ रनमा पेभेलियन फर्किए।
प्रदिपले ४८ बलमा ४ चौकासहित ३७ रनको योगदान दिए। म्यान अफ द म्याच भएका आदीलले ४९ रन जोडे। उनले ३६ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए। ४८ रनमा रहँदाको अवस्थामा दोस्रो रन लिने क्रममा किरण ठगुन्नासँग तालमेल नमिल्दा उनी रनआउट भएका थिए। किरणले ५ रन जोडे। अरुण ऐरीले अविजित ९ तथा विक्रम सोबले अविजित ११ रनको योगदान दिए। दुवैले १-१ छक्का प्रहार गरे। अर्किडका विज्ञान गौतमले २ तथा चन्द्रकान्त पौडेल र विजय विष्टले समान १-१ विकेट लिए।
जवाफमा अर्किडले २० ओभरमा ९ विकेट गुमाउँदै ९८ रन मात्र जोड्न सक्यो। मध्यक्रमका ब्याट्सम्यान प्रवेश खड्काले २५ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले लामो इनिंग खेल्न सकेनन्। ओपनर दीपक बोहोरा र महेश खत्रीले १३-१३ रन जोडेपनि खराब सट खेल्दै क्याचआउट भए। सबै ११ खेलाडीले बलिङ गरेका ट्रीटनका लागि ७ बलरले विकेट लिएका थिए। यसअघि एडिया केसीसीविरुद्ध सहज जित दर्ता गरेको ट्रीटन सेमिफाइनलमा पुगेको छ।
इशान पाण्डेको बिष्फोटक ब्याटिंगमा केयूको जित :
दिनको दोस्रो खेलमा इशान पाण्डेले उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेपछि काठमाडौं विश्वविद्यालयले त्रिचन्द्र कलेजलाई १९ रनले पराजित गर्दै अन्तिम ४ को यात्रा तय गर्यो। टस जितेर पहिलो ब्याटिङ गरेको केयूले २० ओभरमा ३ विकेटको क्षतिमा १५२ रन जोड्यो।
ओपनरद्वय रवीन जोशी र प्रविन रिजालले ५० रनको साझेदारी गरेपछि केयूले राम्रो सुरुवात पाएको थियो। रवीन २८ बलमा २९ रन जोड्दै आउट भएपछि ब्याटिङमा आएका सोनु देवकोटाले पनि १६ रन जोडे। रविनले ३ चौका र १ छक्का तथा सोनुले समान १ चौका र छक्का प्रहार गरे।
अर्का ओपनर प्रविनले प्रतियोगितामा लगातार दोस्रो अर्धशतक बनाउने क्रममा ४९ बलमा ४ चौका र १ छक्कासहित ५१ रनको योगदान दिए। कप्तान इशान पाण्डेले इनिङसको अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै बलियो योगफल खडा गर्न मदत गरे। म्यान अफ द म्याच घोषित उनले ३० बलमा ४ चौका र १ छक्कासहित अविजित ४७ रन जोडे । इशान र प्रविनले तेस्रो विकेटका लागि ६० रनको साझेदारी गरेका थिए। त्रिचन्द्रका लागि तीनै विकेट दिलिप नाथले लिएका थिए ।
जवाफमा त्रिचन्द्रले १९.३ ओभरमा सबै विकेट गुमाउनु हुनुअघि १२४ रनमात्र बनाउन सक्यो। मध्यक्रममा ब्याटिङ अपेक्षित प्रदर्शन गर्न नसक्दा त्रिचन्द्र पराजित हुन पुग्यो। एक समय ७६-२ को स्थितिमा रहेको त्रिचन्द्रले नियमित विकेट गुमाएपछि हारको सामना गर्नुपरेको थियो।
पुरन विकले ४७ तथा प्रज्वल शाहीले ३३ रन जोड्दै राम्रो आधार खडा गरेपनि मध्यक्रम सम्हालिन नसक्दा केयूले जित हासिल गरेको थियो। प्रज्वलले २५ बलमा ३ चौका र २ छक्का तथा पुरनले ४० बलको सामना गर्दै ४ चौका र १ छक्का प्रहार गरे।
ओपनरद्वयदिलिप नाथ ११ र आयुष्मन बम ७ रनमा पेभेलियन फर्केका थिए। मध्यक्रममा सोहन यादव १६, इर्शाद अहमद ४ र सागर भण्डारी ३ रनमा आउट भएका थिए।
केयूका रुपेश श्रीवास्तवले ४, इशान पाण्डे र सागर शर्माले २-२ तथा सोमु देवकोटा र नविन यादवले १-१ विकेट हात पारे । यसअघि नेपाल बन कलेजमाथि सहज जित दर्ता गरेको केयू समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
युनिभर्सिटी क्रिकेट क्लबको योजनामा जारि प्रतियोगितामा १२ कलेज सहभागी छन्। विजेताले २ लाख २२ हजार २ सय २२ तथा उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै म्यान अफ द सिसिजले रु २५ हजार र प्रतियोगिताको उत्कृष्ट ब्याट्स्म्यान र बलरले जनही रु १० हजार पुरस्कार प्राप्त गर्नेछन्।
प्रत्येक खेलको म्यान अफ द म्याचले एक्सटेपको प्रोयाजनमा रु ५ हजार बराबरको जुत्ता प्राप्त गर्नेछन्। ८ दिने प्रतियोगिताका सबै खेलहरु किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछ। प्रतियोगिताको अनुमानित बजेट ३० लाख रुपैयाँ रहेको छ।
सहभागि कलेजहरुलाई चार समुहमा विभाजन गरिएको छ र राउण्ड रोबिन लिगपछि प्रत्येक समुहको प्रथम स्थान ओगट्ने टोली सेमिफाइनल प्रवेश गर्नेछन्। दुवै सेमिफाइनल चैत्र १६ गते हुनेछ भने फाइनल चैत्र १७ गतेका लागि तय गरिएको छ ।
समुह क मा अर्किड इन्टरनेशनल कलेज, एडिया कान्तिपुर सिटि कलेज (केसीसी) र ट्रिटन इन्टरनेशनल कलेज रहेका छन् भने समुह बी मा काठमाडौं युनिभर्सिटी, नेपाल बन कलेज र त्रि चन्द्र क्याम्पस रहेका छन् । यस्तै समुह सी मा नेपाल कमर्स क्याम्पस, हिमालय कलेज र शंकर देव क्याम्पस रहेका छन् । समुह डी मा गोल्डेन गेट इन्टरनेशनल कलेज, त्रिभुव बिश्वबिद्यालय र ओमेगा इन्टरनेशनल कलेज रहेका छन् ।