जयकुमारनाथ शाह यु-१६ को क्वार्टरफाइनल समिकरण पुरा 

बाबु एडभेन्चर प्याराग्लाइडिङ जयकुमारनाथ शाह मेमोरियल यु-१६ ट्वान्टी-२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनल समिकरण पुरा भएको छ।

प्रतियोगिताको शुक्रबार समुह चरणको खेलहरु समाप्त हुँदा सैनिक आवासीय महाविद्यालय, मोक्षदा स्कुल, ग्यालेक्सी पब्लिक स्कुल, नेपाल पुलिस स्कुल, डीएभी स्कुल ‘ए’ , अपि स्कुल, एन्जल्स हार्ट स्कुल र गेटवे एकेडेमी क्वार्टरफाइनल प्रवेश गरेका छन्।

सेमीफाइनल प्रवेशको लागि शनिवार सैनिकले ग्यालेक्सीसंग, डीएभीले एन्जल्स हार्टसंग, मोक्षदाले पुलिस स्कुलसंग तथा अपिले गेटवे एकेडेमीसंग प्रतिस्पर्धा गर्नेछ। खेलहरु मुलपानी मैदान ( तल्लो ) र टियु क्रिकेट मैदानमा हुनेछ।

शुक्रबार सम्पन्न पहिलो खेलमा नेपाल पुलिस स्कुलले रत्न राज्य स्कुललाई ८८ रनले पराजित गर्यो। पुलिस स्कुलले दिएको १५३ रनको लक्ष्य पछ्याएको रत्नराज्यले ६४ रन मात्र बनाउन सक्यो। प्लेयर अफ द म्याच घोषित पुलिसका सागर सिंह एक्लैले ५ विकेट लिए।

आजको दोश्रो खेलमा ग्यालेक्सी पब्लिक स्कुलले संस्कृति इन्टरनेसनल स्कुललाई २९ रनले पराजित गर्यो। १०७ रनको लक्ष्य पछ्याएको संस्कृतिले ७७ रन मात्र बनायो। प्लेयर अफ द म्याच घोषित ग्यालेक्सीका स्वीकृत रिजाल र मिंग्मा तामाङले समान ४ विकेट लिए।

यस्तै तेश्रो खेलमा एन्जल्स हार्ट नेसनल स्कुलले विस्डम इंगलिस स्कुललाई ६२ रनले पराजित गर्यो। १५७ रनको लक्ष्य पछ्याएको विस्डमले ९४ रन मात्र बनाउन सक्यो। प्लेयर अफ द म्याच घोषित एन्जल्सका जोय थापाले ४५ रन बनाउनुको सहित २ विकेट पनि लिए।

काठमाडौं जिल्ला क्रिकेट संघले आयोजना गरको प्रतियोगिता एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को लागि छनोट प्रतियोगिताको लागि समेत लिईएको छ। प्रतियोगितामा २१ टिमको सहभागिता रहेको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy