टेस्ट संरचनाको क्रिकेट प्रतियोगिता ‘जय ट्रफी मेन्स एलाइट कप’ आइतबार देखि वीरगञ्ज र जनकपुरमा सुरु भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा सुरु भएको प्रतियोगिताको पहिलो दिन सहभागी चारवटै टोलीले खेल सुरु गरेका छन् । पर्साको वीरगञ्जस्थित मैदानमा भएको दुई दिवसीय खेलको पहिलो दिन बलरहरू हावी भएका छन् ।
विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिचको खेलमा १७ विकेट खसेको छ । खेलमा पुलिसले टस जितेर आर्मीलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । बलर हाबी भएको खेलमा आर्मी ३४.४ ओभरमा १२१ रन बनाएर अलआउट भयो । पुलिसका लागि ललित राजवंशी एक्लैले सात विकेट लिए जुन क्रममा उनले १४.४ ओभरमा ४ मेडन ओभर गर्दै ४७ रन खर्चिए । यस्तै श्रवण यादव, रासिद खान र कुशल भुर्तेलले एकएक विकेट लिए । आर्मीको ब्याटिंगमा कुशल मल्लले सर्वाधिक २५ रन बनाए भने भिम शार्कीले २२, कप्तान बिनोद भण्डारीले २१, पवन कार्कीले १५ तथा शाहब आलमले ११ रन बनाए।
यस्तै पहिलो इनिङ सुरु गरेको पुलिसले पनि २४ ओभरमा सात विकेट गुमाएर एक सय तीन रन बनाएको छ । लगातार विकेट गुमाएको छ आर्मी पुलिसभन्दा १८ रनले पछाडि छ । दिनको समाप्तिमा पुलिसका गुलसन झा ३४ रनमा र प्रेम तामाङ १ रनमा अविजित छन् । पुलिसको लागि अमित श्रेष्ठले १८, राशिद खानले १६ तथा शंकर रानाले १३ रन बनाए। ओपनरद्वय कुशल भुर्तेल र अर्जुन साउद खाता नखोली आउट भए।
यता बलिङमा आर्मीका देब्रे हाते स्पिनर शाहब आलम एक्लैले पाँच विकेट लिए जुन क्रममा ११ ओभरमा १ मेडन ओभर गर्दै ५५ रन खर्चिए। सोमपाल कामी र पवन कार्कीले एक एक विकेट लिए ।
बागमती ६८ रनले पछाडि
यस्तै जनकपुरमा भएको अर्को खेलमा मधेश प्रदेशविरुद्ध बागमती प्रदेश ६८ रनले पछाडि परेको छ । रामजानकी मैदानमा पहिलो दिन बागमतीले १३ ओभरमा दुई विकेट गुमाएर ३४ बनाएको छ ।
दिनको समाप्तिमा बागमतीका लागि शुभ कंशाकार २२ र इशान पाण्डे ९ रनमा अविजित छन् । मधेशका लागि रुपेश सिंह र विशाल पटेलले एक एक विकेट लिएका छन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मधेश ३५.३ ओभरमा एक सय दुई रनमा अलआउट भएको थियो । मधेशका लागि ओपनर मायन यादवले २१, विशाल पटेलले १६, निरज यादवले १२, अभिषेक तिवारीले ११ र हिमान्शु दत्तले १० रन बनाए ।
बलर हाबी बनेको यस खेलमा पनि बागमतीका कप्तान सन्दीप लामिछानेले पाँच विकेट लिए जुन क्रममा लेग स्पिनरले १४ ओभरमा २ मेडन ओभर गर्दै ४१ रन खर्चिए । सूर्य तामाङले तीन तथा नन्दन यादव र प्रतिश जिसीले एक एक विकेट लिए।